कांग्रेस सांसद रामहरि खतिवडाले भौतिक पूर्वाधार मन्त्रालयको बजेट धनुषामा केन्द्रित गरिएको भन्दै आपत्ति जनाएका छन् ।
आगामी आवको विनियोजन विधेयक शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसद खतिवडाले ८ अर्ब धनुषा गएको भन्दै बाँकी रहेको बजेट पनि उतै लैजान भन्दै व्यंग्य गरे ।
भौतिक मन्त्रालयको बजेट १५ दिन ढिलो आएको र त्यसमा जनकपुरलाई ध्यान दिएको भन्दै खतिवडाले मन्त्रीले आफ्नो निर्वाचन क्षेत्र धनुषा ४ र पत्नी जुलीकुमारी महतो निर्वाचित धनुषा ३ मा बजेट खन्याएको उल्लेख गरे । ‘यतिले पनि पुग्दैन भने १६५ निर्वाचन क्षेत्रमध्ये बाँकी रहेका सबै क्षेत्रको पनि बजेट दिउँ । यतिले पनि नपुग्ने देखेकाले खर्च कटौती होइन म पाँच रुपैयाँ थप्न चाहन्छु,’ रोष्टममा ५ रुपैयाँ छोड्दै खतिवडाले आक्रोश पोखे ।