संसद सचिवालयका कर्मचारी र दुधको भुक्तानी माग्ने किसानहरुको माग सम्बोधन गर्न सरकारसँग सांसदहरुले माग गरेका छन् ।
बिहीवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै अधिकांश सांसदहरुले संसद सचिवालयका कर्मचारीहरुको माग तत्का सम्बोधन गर्न माग गरेका हुन् । उनीहरुले सरकारले संसदका कर्मचारी,दुग्ध किसानहरुको माग सम्बोधन गरी समस्या समाधान गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् । संसद बैठकको शून्य समयमा बोल्दै नेपाली काँग्रेसकी सांसद शान्ति वि.कले संसद सचिवालयका कर्मचारी ५ दिन देखि आन्दोलित हुँदा संसद सञ्चालन प्रक्रिया अवरुद्ध हुँदै आएको बताउनु भयो । उहाँले कर्मचारीहरुको माग तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले सरकारका गृहमन्त्रीले संसदको रोष्टममा उभिएर देशको सूचना चुहाएको भन्दै बोल्नु भयो सूचना चुहाउने व्यक्ति बाहिर ल्याउन माग गर्नुभयो । उहाँले मुलुकको सूचना चुहाउने राष्ट्रघाती हुने बताउनु भयो । उहाँले सहकारी काण्डले प्रहरी प्रशासनलाई अफ्ठ्यारो पारेको भन्दै प्रहरीलाई राजनीतिक दबाब नदिई स्वतन्त्र राख्न आग्रह गर्नुभयो ।
नेपाली काँग्रेसकी सांसद सरस्वती वजिमायाले सदनमा कर्मचारीहरुको सांकेतिक आन्दोलनरत रहेको भन्दै कर्मचारीहरुको जाहेज माग सम्बोधन गर्न माग गर्नुभयो । उहाँले किसानहरुको मुलुकमा केही महत्व नभएको हो ? भन्दै सरकारलाई प्रश्न गर्नुभयो । उहाँले दुधको भुक्तानी माग गर्दै शान्तिपूर्ण आन्दोलन गर्ने किसानलाई सरकारले दमन गर्नु जाहेज नभएको बताउनु भयो । उहाँले दुग्ध किसानले भुक्तानी पाउनु पर्ने रकम ५ अर्ब बढी रहेको बताउनु भयो । सरकारले किसानहरुसँग गरेको सम्झौता समेत कार्यान्वयनमा ढिलासुस्ति भइरहेको बताउनु भयो
नेकपा एमालेकी सांसद सरस्वती सुब्बाले भारत नेपाल खुला सीमाना भएकाले अपराधिक क्रियाकलाप बढ्दै गएको बताउनु भयो । उहाँले यस्ता गतिविधि रोक्नको लागि भारतबाट नेपाल प्रवेश गर्दा आधार कार्ड र नेपालबाट भारत जाँदा नागरिकता अनिवार्य गर्न माग गर्नुभयो । उहाँले सिमा सुरक्षामा खटिएका शसस्त्र प्रहरी थप गर्ने र आवश्यक सेवा सुविधा वृद्धि गरी सीमा सुरक्षामा कडाई गर्न माग गर्नुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लले राष्ट्रिय परिचय पत्रमार्फत सबै काम गर्नेगरी महाअभियानमा लागेको बताउनु भयो । उहाँले तर पछिल्लो समय सामाजिक सुरक्षा लगायतमा पनि राष्ट्रिय परिचय पत्र अनिवार्य बनाउने भनेसँगै विभिन्न जिल्ला प्रशासन कार्यालयमा भीडभाड बढेको बताउनु भयो । उहाँले राष्ट्रिय परिचय पत्र बनाउने पालिका तथा वडाहरुमा व्यवस्थापन गराउन गृह मन्त्रालयसँग माग गर्नु भयो । उहाँले राष्ट्रिय परिचलय पत्र बनाउन र सहभागिता गराई सहज बनाउने गरी सूचना अभियान चलाउन माग गर्नुभयो ।
नेकपा एमालेकी सांसद शान्ति चौधरीले सरकारले ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न राष्ट्रिय परिचलय पत्र अनिवार्य भनेको बताउनु भयो । उहाँले सरकारले राष्ट्रिय परिचलय पत्र अनिवार्य गर्दा वृद्धावृद्धहरुलाई सास्ती भएको भन्दै सहज बनाउन माग गर्नुभयो ।
नेकपा एमालेकी सचेतक सुनिता बरालले देश विकासको लागि कर राजश्वको महत्वपूर्ण भुमिका रहने बताउनु भयो । उहाँले सरकार र अर्थमन्त्री राजश्व संकलनको लागि बढी चिन्तित भइरहेको अवस्था राजश्व तिर्न समेत सास्ती जनताले भोग्नुपरेको बताउनु भयो । उहाँले सरकारले विद्युतीय अर्थात अनलाईन प्रणालीको विकास गरी राजश्व कर दातालाई कर तिर्न सहज बनाउन सरकारसँग माग गर्नुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले नेपाल वायुसेवा निगमको सुधार सुझाव कार्यदल बनाउँदै प्रतिवेदन सार्वजनिक गरेर मात्रै बुझाएर सुधार नहुने बताउनु भयो । उहाँले सरकारले २०५८ साल देखि अहिलेसम्म ९ वटा सुझाव कार्यदल बनाएको तर पनि निगम सुधार हुन नसकेको बताउनु भयो । उहाँले अहिलेसम्म सुझाव कार्यदलले दिएका सुझावहरु सरकारले कार्यान्वय ग¥यो सदनलाई जानकारी दिन आग्रह गर्नुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले पुँजीबजारलाई नियमन गर्ने निकाय धितोपत्र बोर्डलाई सरकारले नै ढिलोपत्र बोर्ड भनेर प्रमाणित गरेको बताउनु भयो । उहाँले गत पुस २१ गतेदेखि बोर्डको अध्यक्ष नभएको माघमा मन्त्रीपरिषद्ले अध्यक्ष बनाउनको लागि सिफारिस समिति बनाएको बताउनु भयो । उहाँले गत चैत २५ गते देखि पाकेको खिचडीको अब भाग लगाउने बेला भएको बताउनु भयो । उहाँले धितोपत्र बोर्डको अध्यक्ष नहुँदा पुँजीबजारलाई प्रत्यक्ष रुपमा असर परेको बताउनु भयो ।
नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गत फागुन १९ गते नयाँ सरकार गठबन्धनका लागि र दुग्ध किसानको माग पूरा गर्नको लागि सम्झौतामध्ये पहिलो मात्रै पूरा भएको बताउनु भयो । उहाँले दोस्रो दुग्ध किसानको भुक्तानी दिने सम्झौता सरकारले कार्यान्वयन नभएकाले प्रधानमन्त्रीले नै गम्भिरतापूर्ण लिएर माग सम्बोधन गर्न आग्रह गर्नुभयो । उहाँले ६ लाख किसानको ५ अर्ब रुपैयाँ राज्यले भुक्तानी दिन बाँकी रहेकाले तत्काल रकम भुक्तानीको लागि माग गर्नु भयो । उहाँले दुग्ध किसानलाई लाठी नभएर रकम भुक्तानी दिन सरकारसँग माग गर्नुभयो । —न्युज एजेन्सी नेपाल