उपसभामुख इन्दिरा रानाले रैथाने खाद्यान्नहरुको प्रवद्र्धन गर्न आवश्यक रहेको बताउनुभएको छ ।
बिहीवार काठमाडौंमा ग्यास्ट्रोनोमी टुरिजम एशोसिएशन अफ नेपालले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जलवायु परिवर्तनका कारण रैथाने बालीहरु मासिँदै गएको बताउनु भयो । उहाँलेआधुनिकतामा बढी रुमल्लिँदा स्थानीय रहनसहन, चालचलन र संस्कृति लोप हुँदै गएको बताउनु भयो । उहाँले नेपाल आउने पर्यटकहरुलाई स्थानीय खानेकुराहरुले स्वागत गर्नुपर्ने बताउनु भयो । उहाँले स्थानीय खानेकुराको प्रवद्र्धनमा सरकार, निजी क्षेत्र मिलेर काम गर्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘अहिले आधुनिकतामा ढल्किने हिसावले विभिन्न रोगहरु निम्त्याइरहेका छौँ । हामीमा भएका कयौँ रैथाने पौष्टिक आहाराहरुलाई हामीले बिर्सिरहेका छौँ । सरकारले रैथाने खानेकुरालाई प्रवद्र्धन गर्नुपर्छ । हाम्रा हिमाल र पहाडहरुमा रैथाने खानेकुरा उत्पादन हुन्थ्यो, आज जलवायु परिवर्तले स्थानीय खानेकुरा लोप भइरहेका छन् । हामीले पर्यटकहरुलाई हाम्रो खानेकुरा खुवाउनुपर्छ । हामीले कसरी त्यहाँका स्थानीय खानेकुराको उत्पादन वृद्धिका लागि एउटा छलफलबाट कानून बनाइ कार्यान्वयन गर्न आवश्यक छ ।’
कार्यक्रममा बोल्दै होटल संघका अध्यक्ष विनायक शाहले ग्यास्टोनोमि टुरिजमको विकास गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले रैथाने खानेकुराको प्रवद्र्धन गरे मात्रै स्थानीय बालीहरुको संरक्षण गर्न सकिने बताउनु भयो । उहाँले नेपालमा हाल झन्डै ५ हजार होटलहरुले रैथाने खानेकुराहरुको प्रवद्र्धन गरिरहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘ग्यास्टोनोमि टुरिजमको विकास गर्नुपर्छ । रैथाने खानेकुराको प्रवद्र्धन गर्नुपर्छ । झन्डै ५ हजार होटलहरु रैथाने खानेकुराको प्रवद्र्धनमा लागेका छौँ । हामी सबै मिलेर अघि बढ्नुपर्छ, हामी सहकार्य गर्न तयार छौँ ।’
अध्यक्ष शाहले नेपालले पर्यटन दशक घोषणा गरेको भन्दै आफूहरु पर्यटन वृद्धिका लागि सहकार्य गर्न तयार रहेको बताउनु भयो ।