क्रसर व्यवसायीहरुको आन्दोलनमा पुगेर मेटमणिले भनेः सरकार कुर्सी जोगाउने काममा मात्रै लाग्यो

.

नेकपा (एकीकृत समाजवादी) क्रसर उद्योग नविकरणको माग राख्दै आन्दोलनमा उत्रिएका क्रसर व्यवसायीहरुको आन्दोलनलाई ऐक्यवद्धता जनाएको छ ।

बिहीवार माईतीघर मण्डलामा पुगेर पार्टीका प्रमुख सचेतक मेटमणि चौधरीले क्रसर व्यवसायीहरुको आन्दोलनमा पार्टीको तर्फबाट ऐक्यवद्धता जनाउनुभएको हो । सो क्रममा उहाँले पार्टीले क्रसर व्यवसायीहरुको आन्दोलनलाई महत्वपूर्ण आन्दोलनका रुपमा लिएको र पार्टीको आन्दोलनप्रति ऐक्यवद्धता रहेको बताउनु भयो । उहाँले सरकार आन्दोलनकारीका माग सम्बोधन गर्नेतिर भन्दा कुर्सी जोगाउने कुरामा बढी केन्द्रित भएको आरोप लगाउनु भयो ।
उहाँले भन्नुभयो, ‘यो आन्दोलनलाई धेरै महत्वपूर्ण आन्दोलनका रुपमा लिएको छु । हाम्रो पार्टीले यसरी लिएको छ । त्यसैले हाम्रो सहभागिता रहेको छ । केही दिनदेखि सरकार मैले के गर्ने, नेपालमा पुँजीपतिहरुको संख्यामा कसरी वृद्धि गर्ने, राजश्वको दायरा कसरी बढाउने भन्दा पनि आफ्नो कुर्सी जोगउने, कुर्सी बचाउने खेलमा मात्रै सरकार रहेको कुराले धेरैले दुःख पाउनुभएको छ । धेरैका मागहरु अलपत्र भएका छन् । यसलाई चाँडो भन्दा चाँडो सम्बोधन गर्नुपर्छ । यही विषयसँग जोडिएको कानून बनाउँदै छौँ, एक महिना भित्र हामी टुंग्याउँछौँ ।’

आन्दोलनका क्रममा आफ्ना धारणा राख्दै नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघका अध्यक्ष सीताराम न्यौपानेले सरकारले क्रसर व्यवसायीहरुका माग तत्काल सम्बोधन नगरे थप आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिनुभयो । उहँले आफ्ना मागहरु चाँडो भन्दा चाँडो सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।
उहाँले भन्नुभयो, ‘सरकारले हाम्रा माग सम्बोधन छिटो गर्नुपर्छ । यसले राज्यको नै क्षति हुनेछ । सरकारले चाँडो भन्दा चाँडो माग सम्बोधन गरोस् ।’

नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले सरकारले क्रसर उद्योगहरुको नविकरण गर्ने कार्यलाई बेवास्था गरेको असार १ गतेदेखि आन्दोलन गर्दै आएको छ । —न्युज एजेन्सी नेपाल