चुरे संरक्षका लागि विशेष योजना ल्याउन सांसद पौडेलको माग

.

नेपाली काँग्रेसका सांसद प्रदिप पौडेलले चुरे संरक्षणका लागि विशेष योजना ल्याउन सरकार सँग माग गर्नुभएको छ ।

आईतवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद पौडेलले चुरेको संरक्षण गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले गमलामा विरुवा रोपेर चुरेको संरक्षण हुन नसक्ने भन्दै चुरे संरक्षणका लागि विरुवा रोप्ने अभियान नै शुरु गर्नुपर्ने बताउनु भयो । उहाँले चुरे मानविय अतिक्रमणको दुष्चक्रमा परेको भन्दै चुरे दोहनलाई रोक्न सरकार गम्भीर हुनुपर्ने बताउनु भयो । उहाँले चुरे संरक्षणको लागि निश्चित कानूनी आधार निर्माण गरेर त्यसलाई कडाइका साथ लागू गर्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘गमलामा विरुवा रोपेर चुरेको संरक्षण हुँदैन । चुरे दिवसको दिन एउटा बिरुवा रोपेर पनि चुरेको संरक्षण हुन सक्दैन । चुरेको संरक्षण गर्ने हो भने विरुवा रोप्ने अभियान सरकारले शुरु गर्नु जरुरी छ । सबै राजनीकि दलका कार्यकर्ताले विरुवा रोप्ने अभियान शुरु गर्नु जरुरी छ । एकै दिनमा हजारौँ बिरुवा रोप्न सक्यौँ, इलामदेखि कञ्चनपुरसम्म करोडौँ विरुवा रोप्न सक्यौँ भने मात्रै चुरेको संरक्षण हुन सक्छ । त्यसैले चुरे संरक्षणको विषयलाई सरकारले विशेष विषय बनाउनु जरुरी छ । वन तथा वातावरण मन्त्रालयले यसलाई विशेष ढंगबाट अगाडी बढाउनु जरुरी छ । चुरे संरक्षणको निश्चित कानूनी आधार निर्माण गरेर त्यसलाई कडाइका साथ लागू गरियोस् ।’ 
चुरे संरक्षणका लागि भुइँ मान्छेहरुले आवाज उठाइरहेको भएपनि सरकारको त्यसतर्फ ध्यान नगएको उहाँको भनाई छ । —न्युज एजेन्सी नेपाल