नेपाली काँग्रेसका सांसद तेजुलाल चौधरीले गणित, विज्ञान र अंग्रेजी शिक्षकको विशेष व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ ।
..
शुक्रवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद चौधरीले विद्यालयहरुमा गणित र विज्ञान शिक्षक पाउन छोडिसकेको बताउनु भयो । उहाँले एसईईको नतिजामा पनि सबैभन्दा बढी गणित विषयमा विद्यार्थी अनुत्तिर्ण भएको भन्दै गणित, विज्ञान र अंग्रेजी शिक्षकको विशेष रुपले व्यवस्था गर्नुपर्ने बताउनु भयो । उहाँले कक्षा १ मा भर्ना भएका ७ लाख विद्यार्थी एसईईसम्म नपुगेको अवस्था रहेको भन्दै विद्यार्थी बिचमै हराएको विषयमा पनि सरकारले ध्यान दिनुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘हिजोमात्रै एसईई परीक्षाको रिजेल्ट निस्कियो । ४८ प्रतिशत मात्रै विद्यार्थीहरु एसईई पास भएको छन् । ५२ प्रतिशत विद्यार्थी फेल भएका छन् । कक्षा १ मा विद्यार्थी भर्ना हुँदा ११÷१२ लाख हुन्छन् । एसईईसम्म आउँदाखेरी ५ लाख हुन्छ । एक त सात लाख विद्यार्थीहरु बाटोमै हराएका हुन्छन् । अहिले आएर सबभन्दा बढी गणित विषयमा १ लाख ७७ हजार फेल भएको छ । नेपालमा धेरैजसो गणित र विज्ञान शिक्षक स्कुलमा पाउन छोडिसकेको छ । म सरकारसँग जोडदार माग गर्न चाहन्छु, साँच्चै शिक्षालाई सुधार गर्ने हो भने गणित, विज्ञान र अंग्रेजी शिक्षकको विशेष व्यवस्था गर्न जोडदार माग गर्न चाहन्छु ।’
उहाँले प्राकृतिक विपत्तिबाट धेरै जनधनको क्षति हुन थालिसकेको भन्दै यसतर्फ पनि सरकारको ध्यानाकर्षण गराउनु भयो । —न्युज एजेन्सी नेपाल