नेकपा (क्रान्तिकारी माओवादी) कम्युनिष्ट पार्टीहरुबीचको एकताको पक्षमा छः सिपी गजुरेल

.

नेकपा (क्रान्तिकारी माओवादी) का नेता सिपी गजुरेलले आफ्नो कम्युनिष्ट पार्टीहरुबीचको एकताको पक्षमा रहेको बताउनुभएको छ ।

पुष्पलाल अध्ययन समाजले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । नेता गजुरेलले कम्यनिष्ट पार्टीलाई मजबुत बनाउन पनि नेपालका क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुबीचको एकता अनिवार्य रहेको तर्क गर्नुभयो । नेपालका कम्युनिष्ट पार्टी एकताको कुरा अहिले हटकेक जस्तै भएको भन्दै उहाँले त्यसको पक्षमा कम्युनिष्ट पार्टीहरु उभिनुपर्ने बताउनु भयो । उहाँले कम्युनिष्टहरुले जनवादी गणतन्त्रको पक्षमा दृढतापूर्वक उभिनुपर्ने बताउनु भयो ।
नेता गजुरेलले भन्नुभयो, ‘नेपालका कम्युनिष्ट पार्टी एकताको कुरा अहिले हटकेक जस्तै भएको छ । सबै नेताहरुले यो कुरा बोलि हाल्नुहुन्छ । ल हाम्रो पार्टी चाहीँ एकताको पक्षमा छ । सकेसम्म पार्टी एकतानै गर्ने, नभए पनि मोर्चा गर्ने । केही न केही त गरेरै छाडछौं भनि हाल्नुहुन्छ उहाँहरु । अहिलेको एउटा आवश्यक्ता के हो भने एउटा मजबुत क्रान्तिकारी कम्युनिष्ट पार्टी बन्नु अहिलेको इतिहासको आवश्यकता हो । नेपालमा अहिले जुन व्यवस्था आएको छ । लोकतान्त्रिक गणतन्त्र जुन आएको छ । त्यो हामीले मागेको हो कि परिस्थितिको उपज हो ? के त्यतिखेरको माओवादीले यही लोकतान्त्रिक गणतन्त्र ल्याउनका लागि जुनयुद्ध गरेको हो त ? त्यो त होइन । एउटा त कम्युनिष्ट आन्दोलन कमजोर भएको छ । त्यसलाई बलियो बनाउनु परेको छ । दोस्रो अहिलेको आन्दोलनमा ठूलो भ्रम पैदा भएको छ । जनतमा भ्रम दिने दुई वटा विषय छन् । एउटा गणतन्त्र, अर्को समाजवाद । अब सबै पार्टीहरु के भन्छन भने समाजवादको लागि अगाडि बढने हो । अर्काे सबैले गणतन्त्र भन्छन । यो लोकप्रिय भएको छ  । हाम्रो पार्टी असाध्यै कम्युनिष्ट एकताको पक्षमा छ । ’

नेता गजुरेलले लोकतान्त्रिक गणतन्त्र माओवादी जनयुद्धको पनि लक्ष्य नभएको बताउनु भयो । —न्युज एजेन्सी नेपाल