श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले सरकारले विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेको बताउनुभएको छ ।
आईतवार सिंहदरबारस्थित मन्त्रालयमा विदेशबाट फर्किएर स्वदेशमा नै व्यवसाय गर्ने उद्यमीहरुलाई सम्मान कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो । उहाँले सरकारले रोजगारी सिर्जना र श्रमको खोजी गर्ने नागरिकहरुलाई स्वदेशमा नै रोजगारीको व्यवस्था गर्न विभिन्न कार्यक्रममार्फत काम गरिरहेको बताउनु भयो । उहाँले विदेशबाट स्वदेश फर्किएका युवाहरुलाई स्वदेशमा नै रोक्न आवश्यक रहेकाले सरकारले विभिन्न योजना बनाउने र छलफल गरिरहेको बताउनु भयो । उहाँले इजरायल लगायत विभिन्न देशबाट स्वदेश फर्किएर व्यवसाय गर्ने उदमीहरुलाई बधाई तथा शुभकामना दिनुभयो । उहाँले इजरायलबाट फर्किएर नेपालमा व्यवसाय गर्नहरुले विदेशमा बसिरहेका नेपाली नागरिकहरुलाई स्वदेश फर्कने वातावरण र फर्किएपछि मुलुकभित्रै केही गर्न सकिन्छ भन्ने महत्वपूर्ण सन्देश दिएको बताउनु भयो । उहाँले स्वदेशमा हुने नागरिकहरु श्रमको खोजिमा रहेका र विदेशमा बस्नेहरुलाई स्वदेशमा फर्किएर केही गर्न सकिन्छ भन्ने सन्देश गएको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘अहिले इजरायल लगायत विभिन्न देशबाट स्वदेश फर्किएर व्यवसाय गर्दै हुनुहुन्छ । सरकारले यो भन्दा अगाडि छलफल गरी रहेका छौं । विदेशबाट फर्केका नेपाली नागरिक फेरि विदेश फर्कनुनपर्ने गरी योजना बनाइरहेको छ । यो देशको लागि केही गरौं भनेर बहस छलफल गरिरहेका छौं । इजरायलबाट फर्किएर नेपालमा व्यवसाय गर्नहरुले विदेशमा बसिरहेका नेपाली नागरिकहरुलाई स्वदेश फर्कने वातावरण र फर्किएपछि मुलुकभित्रै केही गर्नसक्छांैं । भन्ने महत्वपूर्ण सन्देश दिइरहनुभएको छ । स्वदेशमा हुने नागरिकहरु श्रमको खोजिमा हुनुहुन्छ । विदेशमा बस्नेहरुलाई स्वदेशमा फर्किएर केही गर्न सकिन्छ भन्ने सन्देश गएको छ ।’
सरकारले इजरायलबाट फर्किएर मुलुकको विभिन्न ठाँउमा उद्यम गर्ने ८ जनालाई सम्मान गरेको छ । —न्युज एजेन्सी नेपाल