नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले काठमाडौं जिल्ला अदालतमा पेश भएको द डार्क फाइलको मुद्दामा दुई पटक प्रहरीले बयान लिएको व्यक्तिलाई फरार अभियुक्त बनाइएको भन्दै यस सम्बन्धमा गृहमन्त्रीको जवाफ माग गर्नुभएको छ ।
आईतवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद खतिवडाले द डार्क फाइलको मुद्दामा राजकुमार तिमल्सिना, युवराज कँडेल र नविन ढुङ्गानालाई अभियुक्त बनाएर मुद्दा दर्ता गरेको उल्लेख गर्नुभयो । उहाँले २ जना मान्छे प्रहरीको सम्पर्कमा नभएको भन्दै राजकुमार तिमल्सिनालाई प्रहरीले दुईचोटी बयान लिएर पनि फरार अभियुक्तको रुपमा मुद्दा अदालतमा पेश गरिएको बताउनु भयो । उहाँले बयान लिएको मान्छेलाई छुटाएर फरार अभियुक्त बनाइएकोप्रति गृहमन्त्रीले संसदमा जवाफ दिनुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘१४ गते काठमाडौं जिल्ला सहकारीमार्फत काठमाडौं जिल्ला अदालतमा एउटा चर्चित द डार्क फाइल भन्ने मुद्दा प्रस्तुत भएको छ । यो मुद्दामा ३ जना अभियुक्त बनाइएको छ, राजकुमार तिमल्सिना, युवराज कँडेल र नविन ढुङ्गाना । तिमध्ये २ जना मान्छे सिआईबिमा सम्पर्कमा भएनन् । तर राजकुमार तिमल्सिनालाई दुईचोटी बयान लिएर नेपाल प्रहरीको सिआइबिले फरार अभियुक्तका रुपमा अदालतमा पेश गरिएको छ । कुनै बेला ६० केजी सुन प्रकरणमा फरार अभियुक्त भनेर बयान लिएका चलाउने भन्ने मान्छेको नाममा मुद्दा चलाउँदाखेरी तत्कालिन एआईजीलाई कारबाहीको प्रस्तावसम्म गरियो भने तर अहिले बयान लिएको अभियुक्तलाई कसको निर्देशनमा, किन बयान लिएको मान्छेलाई छुटाएर फरार अभियुक्त भनेर अदालतमा मुद्दा पेश गरियो । यो आपत्तिजनक छ कसको निर्देशनमा भयो यसको जवाफ गृहमन्त्रीले सदनमा दिनुपर्छ भनेर आग्रह गर्न चाहन्छु । दुई पटक सिआइबिमा बयान लिएको मान्छेलाई के आधारमा फरार अभियुक्त भनेर अदालतमा पेश गरियो त्यसको जवाफ छिटोभन्दा छिटो सदनलाई जानकारी गराइयोस् ।’
त्यस्तै नेपाली कांग्रेसका साँसद चन्द्रकान्त भण्डारीले आफ्नो जिल्लामा विशेष क्षमता भएका व्यक्तिले खुट्टाले लेखेर एसईईमा ३.३७ जिपिए प्राप्त गरेको भन्दै उनको आगामी पढाइको ग्यारेन्टी लिन सरकारसँग माग गर्नुभयो ।
उहाँले भन्नुभयो – ‘गुल्मी छत्रकोटा गाउँपालिकामा एक्स्ट्राएबल बच्चाहरु भेटिएका छन् । जसको कुनै अंग चल्दैन । अहिलेको एसईई परीक्षामा खुट्टाले लेखेर ३.३७ जिपिए प्राप्त गरेका छन् । उनले विज्ञान पढ्ने भने मसँग । सरकारले तिम्रो पढाइको ग्यारेन्टी लिन्छ भन्नुप¥यो । यही कुरा मैले अनुरोध गर्न चाहे ।’
नेकपा(माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले प्राकृतिक विपद्बाट बचाउन असुरक्षित स्थानमा रहेका बसोवासलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्ने बताउनु भयो । उहाँले उच्च रुपमा सतर्कता अपनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले घटना हुनासाथ उद्धार, उपचार र पुनःस्थापनाको लागि सहज वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराउनु भयो ।
उहाँले भन्नुभयो – ‘निकै असुरक्षित ठाउँमा रहेका बसोबासहरुलाई सरकारले समयमा नै ध्यान पु¥याएर सुरक्षित ठाउँमा स्थानान्तरण गर्ने र सरकारका कतिपय निकायहरुलाई व्यवस्थित रुपमा परिचालनको उच्चस्तरीय सतर्कता अपनाएर व्यवस्थित रुपमा उनीहरुलाई साधन, स्रोत ल्याइपु¥याउने । घटना घट्नेबित्तिकै उद्धारको लागि सहज वातावरण बनाउने कुरामा अझैपनि कमी आएको छ । सुचना मात्रै दिने होइन । राज्यको काम भनेको सुचनाको अतिरिक्त आपत पर्दाखेरी तत्काल उपस्थित भएर जनतालाई उद्धार गर्ने हो । प्राकृतिक प्रकोपमा परेका जनसमुदायहरुलाई उच्च सतर्कतासहित राज्यले सही निकास देओस् । उपचारको व्यवस्था मिलाओस् । सुरक्षित ठाउँमा बसोबासको व्यवस्था मिलाओस् । र घाइतेको शीघ्र उपचारको व्यवस्था मिलाओस् ।’
उहाँले सरकारको काम विपद्को सूचना मात्रै दिने नभइ विपद् हुनासाथ तत्काल उपस्थिति जनाएर जनताको उद्धार गर्नुभएको बताउनु भयो । —न्युज एजेन्सी नेपाल