महिनाको १५ दिन पाँच तारे होटलमा खाना खाने नेताहरुले समाजवाद ल्याउन सक्दैनन्ः अध्यक्ष राउत

.

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले ४३ प्रतिशत जनता गरिबीको रेखामुनी रहेको देशमा महिनाको १५ दिन पाँच तारे होटलमा खाना खाने नेताहरुले समाजवाद ल्याउन नसक्ने बताउनुभएको छ ।

आईतवार काठमाडौंमा नेकपा (एकीकृत समाजवादी) को  राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले महिनाको १५ दिन पाँचतारे होटलमा खाना खान जाने नेताहरुले म समाजवादी हुँ भन्न नसुहाउने बताउनु भयो । उहाँले कर्णालीका नागरिकले बिरामी हुँदा सिटामोल नपाउने देशमा विदेशमा गएर उपचार गर्ने नेताहरु समाजवादी हुन नसक्ने बताउनु भयो । उहाँले नागरिकका छोराछोरी सरकारी अस्पतालमा जाने तर सरकारी अस्पतालको गुणस्तर सुधार नगर्ने र आफ्ना सन्तानलाई निजी विद्यालयमा भर्ना गर्ने नेताहरु समाजवादी हुन नसक्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामी समाजवादका कुरा गर्दछौँ । म महिनाको १५ दिन जति पाँच तारे होटलमा गएर खाना खान्छु भने जहाँ ४३ प्रतिशत जनता गरिबीको रेखामुनी बाँचिरहेका छन् भने म आफूलाई समाजवादी भन्ने की नभन्ने । जुन ठाउँमा कर्णालीमा मान्छे बिरामी हुँदा खाने कुरा हुँदैन, नुन पाइरहेका छैनन्, सिटामोल पाइरहेका छैनन्, म महंगो अस्पतालमा उपचार गराउँछु, विदेशमा गएर उपचार गराउन चाहन्छु, म समाजवादी हो की होइन । म एकातिर रोजगारी दिने कुरा गर्दछु, अर्कोतिर कसरी युवालाई विदेश पठाउने भनेर लाखौँको संख्यामा सम्झौता गर्दछु भने म समाजवादी हो की होइन । म आफ्नो छोराछोरीलाई महंगो बोर्डिङ स्कुलमा भर्ना गर्दछौँ, जहाँ अधिकांश विद्यार्थीको स्थिति राम्रो छैन, म समाजवादी हो की होइन ।’ 

अध्यक्ष राउतले समाजवादी बन्न हुनुपर्ने मापदण्ड नेताहरुले पालना गर्न नसकेको बताउनु भयो । —न्युज एजेन्सी नेपाल