पूर्वसभामुख दमननाथ ढुंगानाले प्रत्यक्ष निर्वाचित सांसद र समानुपातिक सांसदहरुलाई एउटै संसदमा राखेर संसद प्रभावकारी बन्न नसक्ने बताउनुभएको छ ।
आईतवार संसद भवनमा ६६ औं संसद दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले समावेशिता वर्तमान संविधानको सबैभन्दा राम्रो पक्ष भएको बताउँदै समावेशिता कहाँ राख्ने भन्नेकुराको यकिन हुन आवश्यक रहेको बताउनु भयो । उहाँले प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा बराबर समावेशी सदस्यहरु भएको संसद बराबर हुनै नसक्ने बताउनु भयो । उहाँले महिलाहरुको लागि छुट्टै, जनजाति, मधेसी, थारुहरुका छुट्टै प्रत्यक्ष निर्वाचन स्थल बनाउन जरुरी रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘समावेशिता यो संविधानको सबैभन्दा राम्रो पक्ष हो । तर समावेशिता कहाँ राख्ने, प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा बराबर समावेशी सदस्यहरु भएको संसद बराबर हुनसक्छ ? तपाईंहरुले कहिल्यै यो कुरा सोच्नुभएको छ । त्यसकारण समावेशितालाई ठिक ठाउँमा राख्नुस् । महिलाहरुको लागि पनि प्रत्यक्ष निर्वाचन गराइदिनुस् । जनजाति, मधेसी, थारुहरुका लागि गरिदिनुस् । तर समावेशी र प्रत्यक्ष निर्वाचित एक ठाउँम नराख्नुस् । दुवैलाई कस्तो कस्तो उदासिनताको भाव छ । एउटा लघुताभाषा छ । एउटा प्रत्यक्ष निर्वाचित भएर आउँछ, एउटा पार्टीबाट समावेश भएर आउँछ । त्यो पार्टीबाट पनि कसरी आउँछ, पार्टीका नेतालाई थाहा हुँदैन । कुन गुट र कसको खल्तीबाट आउँछ । त्यस्तो समावेशिता र प्रत्यक्ष निर्वाचित दुई सांसद एक ठाउँमा बस्दा संसद कहिल्यै पनि प्रभावकारी हुन सक्दैन ।’
पूर्वसभामुख ढुंगानाले नेपालको राजनीति सबैलाई प्रधानमन्त्री नै हुनुपर्ने किसिमको रहेको बताउनु भयो । —न्युज एजेन्सी नेपाल