सहकारीको विषयलाई सामान्य रुपमा नलिनुस्ः अध्यक्ष केसी

.

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सहकारीको विषयलाई सामान्य रुपमा लिन नहुने बताउनुभएको छ ।

आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले गठबन्धनहरु फेरि रहे पनि सबै राजनीतिक दल र सरकारमा जाने नेतृत्वले सहकारीमा रकम हिनामिना गर्नेहरुलाई कानूनअनुसार कारबाही गर्नुपर्ने बताउनु भयो । उहाँले सहकारीमा सिमित व्यक्तिहरुले ठूलो रकम हिनामिना गरेको बताउनु भयो । उहाँले नागरिकले आधा पेट खाएर जम्मा गरेको रकम फिर्ता गराउनुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘गठबन्धनहरु फेरिरहेका छन् । तर पनि हाम्रो पार्टीले भनेको जस्तो देश महिनामै राष्ट्रिय जनमार्चाले यो सहकारीको रकम जुन ठूलो मात्रामा हिनामिना भएको छ । लाखौँ नेपालीको विचल्ली भएको छ । यो चानचुन विषय होइन । जनताले नै दबाब नदिइकन नेपाली जनताले खाइ नखाइ जोगाएको पैसा केही सिमित टाठाबाठाहरुले हिनामिना गरेका छन् । म सहकारी मन्त्री हुँदा सहकारीको बारेमा राम्रो थाहा थिएन । मलाई सहकारीको बारेमा मन्त्री बनेपछि धेरै कुरा थाहा भयो । यो चानचुन विषय होइन । यसमा राजनीतिक दलहरुले पनि दबाब दिनुपर्छ ।’
अध्यक्ष केसीले पुँजीवादी आर्थिक प्रणालीले अंगीकार गरेको सहकारी पद्धतिलाई राष्ट्रिय जनमोर्चाले स्वीकार गर्ने पनि बताउनु भयो । —न्युज एजेन्सी नेपाल