कमाईमा अजित कुमारको ‘वलिमै’को रेकर्ड

.

काठमाडौं-तेलुगु सुपरस्टार अजित कुमार र हुमा कुरैशी स्टारर फिल्म ‘वलिमै’ले कोरोनाकालको सबैभन्दा ठूलो ओपनिङ गरेको छ । यो फिल्मको ओपनिङ कलेक्सन ६२ दशमलब ३६ करोड रुपैंयाँ छ । फिल्मले दर्शक र समीक्षकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।

 

अजितको यो फिल्मले बक्स अफिसमा सबै रेकर्ड तोडेको छ । फिल्मले तमिलनाडुमा पहिलो दिनमा ३६ करोड रुपैंयाँको कलेक्सन गर्यो । त्यस्तै चेन्नईमा १ दशमलब ८४ करोड रुपैंयाँको ओपनिङ थियो । चेन्नईमा यति ठूलो ओपनिङ गरेको अजितको यो पहिलो फिल्म हो ।

 

पछि परे अल्लु अर्जुन

 

कोभिड महामारीमा रिलिज भएका दक्षिण भारतीय फिल्मको ओपनिङ राम्रो रहेको छ । गत वर्षको जनवरी १३ मा रिलिज भएको फिल्म ‘मास्टर’ले पहिलो दिनमा नै ४३ करोड रुपैंयाँ कलेक्सन गरेको थियो । त्यस्तै नोभेम्बर ४ मा रिलिज भएको रजनीकान्तको फिल्म तमिलनाडुमै ३४ दशमलब ९२ करोड रुपैंयाँको ओपनिङ कलेक्सन गरेको थियो ।

 

यसैगरी मोहनलालको ‘मरक्करः लायन अफ द अरेबियन सी’ ले पहिलो दिन ६ करोडको व्यापार गरेको थियो । अभिनेता अल्लु अर्जुनको ‘पुष्पा  : द राइज स्टार’ले ६२ दशमलब ५० करोडको ओपनिङ गरेर ओपनिङको मामलामा वर्षकै सबैभन्दा ठूलो फिल्म बनेको थियो ।

अजितको पोस्टरमा दुध र दही

 

फिल्म र अभिनेता अजित कुमारलाई लिएर फ्यानको क्रेज यति धेरै छ कि दक्षिण भारतका कैयौं सहरमा रहेका फिल्म हल बाहिरको सडक जाम भएको थियो । जसकारण कैयौं रुटलाई डाइभर्ट गर्नुपरेको थियो । एक भिडियोमा फ्यानहरूले अजित कुमारको ठूल्ठूला पोस्टरलाई दुध र दहीले नुहाइदिँदै गरेको देख्न सकिन्थ्यो ।

 

अजितको ‘वलिमै’को विश्वव्यापी थिएट्रिकल राइट ९६ करोड रुपैंयाँमा बिक्री भएको छ । यो आँकडाअनुसार यो फिल्मले सन् २०१७ मा रिलिज उनकै फिल्म ‘विवेगम’को रेकर्ड तोडेको छ । त्यस समयमा ‘विवेगम’ ८५ करोडमा थिएट्रिकल राइटका रूपमा बिक्री भएको थियो ।

 

अजितको फिल्मले थिएट्रिकल राइट्सबाहेक स्याटेलाइट, डिजिटल प्लेटफर्म र म्युजिकका माध्यमबाट करिब ६० करोड रुपैंयाँ कमाएको छ । फिल्मले रिलिजअघि नै एक सय ५५ करोड रुपैंयाँ कारोबार गरिसकेको छ ।

 

एच विनोदको निर्देशनमा बनेको फिल्ममा अजित र हुमाका अलावा कार्तिकेय, योगी बाबू, सुमित्रा र पुगाजको पनि अभिनय छ । फिल्ममा अजितले एक प्रहरी अधिकृतको भूमिका निर्वाह गरेका छन् । फिल्मको निर्माता बोनी कपूर हुन् ।

न्युज कारखाना