पोखरामा अन्तर्राष्ट्रिय वेलुन फेष्टिभल हुँदै

.

पोखरामा हालसम्मकै ठुलो रकम ६ करोड ५० लाखको बजेटमा अन्तर्राष्ट्रिय वेलुन फेष्टिभल हुने भएको छ । वेलुन नेपाल प्रा.लि.ले पोखराको बाम्दी क्षेत्रमा आउदो पुस दोश्रो सातादेखि सरकारी तथा गैरसरकारी विभिन्न संघ संस्थाहरुको समन्वय तथा सहयोगमा उक्त बजेट खर्च गर्नेगरी नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय वेलुन फेष्टिभल आयोजना गर्न लागेको बिहीवार पोखरामा आयोजित छलफल कार्यक्रममा जानकारी गराइएको हो ।

पोखरामा सहासिक खेल पर्यटनको प्रवद्र्धन गर्ने उद्धेश्यले उक्त कार्यक्रम आयोजना गर्न लागिएको बेलुन नेपाल प्रा.लि.का अध्यक्ष विक्रम वाडेले पोखरामा आयोजित छलफल कार्यक्रममा बताउनुभएको हो । उहाँका अनुसार आउँदो पुष १४ देखि १८ गते (डिसेम्बर २९, २०२४ देखी जनवरी २, २०२५) सम्म आयोजना गर्न लागेको उक्त फेष्टिभलमा विश्वको विभिन्न देश वाट करिव २० देखि २५ वटा वेलुन निर्यात गरी वेलुन फेस्टिभल गर्न लागेको हो । उक्त कार्यक्रममा बोल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले ६ करोड भन्दा बढीको बजेटमा आयोजना हुने उक्त फेष्टिभलले सो रकम कसरी संकलन गरिन्छ प्रश्न गर्दै खर्च पारदर्शी गर्न आग्रह गर्नुभयो । बीमासहित सुरक्षामा विशेष ध्यान दिन आयोजकलाई उहाँको सुझाव थियो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले उक्त कार्यक्रम नेपालको लागि ऐतिहासिक कार्यक्रम हुने दाबी गर्नुभयो । पर्यटन बोर्डतर्फ लक्षित गर्दै उहाँले पर्यटन प्रवर्द्धनमा उचित बजेट विनियोजन गर्न माग गर्नुभयो । पोखरा पर्यटन बोर्ड गण्डकी प्रदेशका निमित्त कार्यालय प्रमुख नवीन पोखरेलले उक्त फेष्टिभलले थप पोखरामा एक दिनको पर्यटनको बसाई अविध लम्वाउने दाबी गर्नुभयो । पोखरामा पर्यटनका सम्भाव्यताको खोजी गर्न उक्त कार्यक्रमले टेवा पुग्ने उहाँको भनाई थियो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रवन्धक योगेन्द्र कुवंरले उक्त कार्यक्रमका अवधि हवाई उडानलाई सुरक्षित पार्न कटिवद्ध रहेको बताउनु भयो । लौरूकदेखि चंखपुरसम्म वेलुन उडानको मान्यता दिएको उहाँको भनाई थियो । पोखरा ६ का वडा अध्यक्ष बिष्णुबहादुर भट्टराईले पर्यटन व्यावसाय खस्केको अबस्थामा यस कार्यक्रमले पर्यटन प्रबर्द्धन हुने बताउनु भयो । वेलुन नेपालका संचालक सविन महर्जनले पोखरामा यस्ता खेलको धेरै सम्भावना भएको कारण पोखरामा आयोजना गर्ने गरी तयारी गरेकोे बताउनु भयो । ईभेन्ट म्यानेजर प्रतिक्षा डंगोलले हर्ट एयर वेलुन पोखरामा धेरै सम्भावना रहेको बताउनु भयो ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले उक्त कार्यक्रमको व्यपक रुपमा प्रचार प्रसार गर्न सुझाव दिनुभयो । कार्यक्रममा रेवान पोखराका अध्यक्ष विश्वराज पौडेल, टान गण्डकीका अध्यक्ष धर्मराज पन्थी, अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बराल, पत्रकार सन्देश श्रेष्ठ लगायतले पोखरामा कुनै पनि ठुला मेला महोत्सव एकै मितिमा नपार्न सुझाव दिदै यस्ता कार्यक्रम पोखरा क्षेत्रको प्रबद्र्धनमा आवश्यक भएकोमा जोड दिनुभएको थियो ।

नेपाल पर्यटन बोर्ड, संस्कृति, पर्यटन नागरिक उड्डयन मन्त्रालय, गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपाल नागरिक उड्डयन प्राधिकरण, पोखरा पर्यटन परिषद् लगायतका संघ संस्थाहरुको साथ र सहयोग हुने अध्यक्ष वाडेले पोखराक्लिकलाई बताउनु भयो । पोखरामा हुँदै आएको पोखरा सडक महोत्सवको अवसरमा हुने उक्त कार्यक्रमले कुनै थप पर्यटक प्रबद्र्धमा टेवा पुग्ने दाबी गर्दै अध्यक्ष वाडेले यदि मिति सार्नु परे त्यसमा आफूहरु तयार रहेको वचन दिनुभयो ।