गभर्नरले आफूसँग वैचारिक निकटता मिल्ने प्रधानमन्त्री र अर्थमन्त्री आएकाले मौद्रिक नीति खुकुलो ल्याउनुभयोः पूर्वमन्त्री पुन

.

पूर्वअर्थमन्त्री वर्षमान पुनले राष्ट्र बैंकका गभर्नरले आफूसँग वैचारिक निकटता मिल्ने प्रधानमन्त्री र अर्थमन्त्री आएकाले मौद्रिक नीति खुकुलो ल्याएको देखिएको बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिको बैठकमा बोल्दै पूर्वअर्थमन्त्री पुनले यस्तो बताउनुभएको हो । उहाँले गभर्नरले विगतमा शेरबहादुर देउवा र पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई गभर्नरले साथ नदिएको बताउनु भयो । उहाँले अहिले आफूसँग वैचारिक निकटता भएको प्रधानमन्त्री र अर्थमन्त्री आएकाले गभर्नरले खुकुलो मौद्रिक नीति ल्याएको दाबी गर्नुभयो । उहाँले भन्ने मान्छेको मुख थुन्न नसकिने भएपनि बाहिर बसेर हेर्दा कहीँ न कहीँ गभर्नरको भुमिका त्यही देखिएको बताउनु भयो । उहाँले धितोपत्र बजार बढ्नु राम्रो भएपनि पहिले नै सुधारका नीति लिन राष्ट्र बैंकले ढिला गरेको बताउनु भयो । उहाँले शेयर धितो कर्जाको सीमा पहिले नै हटाउनुपर्ने भएपनि अहिले मौद्रिक नीतिमार्फत हटाउनु राम्रो भएको बताउनु भयो । उहाँले पुँजी बजारको सन्दर्भमा पारदर्शी कारोबार र व्यवस्थापनका लागि तत्काल धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्नुपर्ने बताउनु भयो । उहाँले पूर्वअर्थमन्त्री डा. महत र आफ्नो कार्यकाल अध्यक्ष नियुक्त नगर्र्दा सकिएको भन्दै अहिलेको अर्थमन्त्रीले पनि सक्ने÷नसक्ने हेर्न बाँकी रहेको बताउनु भयो । उहाँ वर्तमान सरकारले धितोपत्र बोर्डको अध्यक्ष कुनै चलखेल र बद्मासी विना उपयुक्त गर्नुपर्ने बताउनु भयो । उहाँले बोर्ड अध्यक्षमा योग्य व्यक्तिलाई नेतृत्वमा ल्याउनुपर्ने पक्षमा आफूहरु रहेको उल्लेख गर्नुभयो । पूर्वअर्थमन्त्री पुनले धितोपत्र बोर्ड रोकिरहेको आईपीओ तत्काल खोल्न पनि आग्रह गर्नुभयो । उहाँले आईपीओ रोकिराख्नु राम्रो नभएको भन्दै अर्थमन्त्री र प्रधानमन्त्रीसँग छलफल गरी आईपीओ नरोक्न आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो,‘ पुँजीबजारका विषयमा चर्चा छ । खुशीको कुरा के छ भने शेयर बजार माथि गएको छ । हामी सबै खुशी हुनुपर्छ । ६० लाख बढी पुँजीबजारमा लगानीकर्ताहरु छन् । बीचमा शेयर बजार गिरावट हुँदा चिन्ता बढेको थियो । अहिले बढ्दा खुशी हुने कुरा हो । पुँजीबजार बढ्नुको केही कारणहरु पनि छन् । बजेटको वरिपरी राष्ट्र बैंकको त्रैमासिक समिक्षा बेला सहज नीति आएको थियो । राष्ट्र बैैंकसँग सल्लाह गरेर मौद्रिक नीतिमा सरलिकृत गरेपछि २४ सय अंकसम्म पुगेको थियो । सरकारले बजेटमा केही राख्यौँ । बजेटमा राखिएका ६ वटा विषयहरु मौद्रिक नीतिबाट सम्बोधन भएका छन् । त्यसले सार्वजनिक वित्त नीति र मौद्रिक नीति मिल्दैन । भन्ने भाष्यलाई क्रस गरेर राष्ट्र बैंक र अर्थमन्त्रालय बीचमा एकरुपता भयो । त्यसले पनि शेयर बजारलाई बढायो । बढाएको छ त्यो राम्रो भएको छ । बाहिर टिप्पणी पनि आएको छ । त्यो स्वभाविक पनि हो । विगतमा शेरबहादुर देउवाको नेतृत्वको सरकारलाई गभर्नरले सपोर्ट गर्नु भएन । प्रचण्डको नेतृत्वको सरकारलाई पनि गभर्नरले सपोर्ट गर्नुभएन । अहिले आफूसँग वैचारिक निकटता भएको प्रधानमन्त्री र अर्थमन्त्री आएको हुनाले उहाँले खुकुलो गर्नुभएको आफ्नो टे«न भन्दा विपरित खुकुलो नीति लिनुभयो । यसले राम्रो भएको भन्ने पनि आयो । मान्छेको मुख थुन्न सकिँदैन । तर,कही न कही त्यो पनि देखिन्छ । वित्त र मौद्रिक नीतिको तालमेल यस पटक मिलेको छ । धितोपत्र बोर्डको अध्यक्षमा व्यवसायिक मान्छे ल्याउनुपर्छ भनेर मैले पनि धेरै कोशिस गरे। यसमा धेरै कर्पोरेट हाउसको चासो रह्यो । तर बोर्ड अध्यक्षमा स्वच्छ र व्यावसायिक मान्छे ल्याउन आवश्यक छ ।’

उहाँले यो वर्ष वित्त र मौद्रिक नीतिको तालमेल मिल्दा शेयर बजार सकारात्मक बनेको बताउनु भयो । उहाँले वित्त नीति बनाउँदा  नेपाल राष्ट्र बैंकका गभर्नरलाई समेतसँगै राखेरै मौद्रिक नीतिमा सहज हुनेगरी व्यवस्था गर्र्न सुल्झाएको स्मरण गर्नुभयो । उहाँले शेयर बजार सकारात्मक बन्नु राम्रो पक्ष भएको भन्दै सबै खुशी हुनुपर्ने बताउनु भयो । तर कतिपय कम्पनीको सेयर मूल्य अस्वाभाविक देखिएकाले लगानीकर्ता र आम नागरिकको पैसा डुब्ने खतरा भएकाले नियामक निकायले अस्वाभाविक मूल्य देखिएका कम्पनी वा कारोबारका विषयमा अनुसन्धान गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । —न्युज एजेन्सी नेपाल