संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले समग्र हवाई उड्डयनको क्षेत्रमा अध्ययन गर्नका लागि सरकारले आयोग बनाउन लागेको बताउनुभएको छ ।
बिहीवार सिंहदरबारमा संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा एयर डाईनेष्टी हेलिकप्टर दुर्घटनाबारे जानकारी गराउँदै उहाँले सो कुरा बताउनुभएको हो । बुधवार हेलिकप्टर दुर्घटनामा परी चालक दलका सदस्यसहित ५ जनाको ज्यान गएको थियो । त्यसलगत्तै बसेको मन्त्रीपरिषद्को आकस्मिक बैठकले सो दुर्घटनाको छानविनका लागि ३ सदस्यीय छानविन समिति गठन गरेको थियो । घटना विशेषको छानविनका लागि सो समिति गठन गरेपनि समग्र हवाई उड्डयनको क्षेत्रमा देखिएको समस्या समाधानका लागि पनि प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्री परिषद बैठकले मन्त्रालयलाई सो क्षेत्रको समग्र अध्ययनका लागि आयोग नै गठन गर्न निर्देशन दिएको पनि मन्त्री पाण्डेले समितिलाई जानकारी गराउनु भयो । उहाँले गएराति पनि अबेरसम्म प्रधानमन्त्री ओलीले आफू र मन्त्रालयका सचिवसँग सो विषयमा छलफल गरी त्यस क्षेत्रको समस्या समाधान हुनेगरी आयोग बनाउन निर्देशन दिनुभएको पनि बताउनु भयो । मन्त्री पाण्डेले अब बस्ने मन्त्रीपरिषद् बैठकले सो आयोग बनाउने दाबी पनि गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘घटनालगत्तै छानविन समिति बन्यो । मन्त्री परिषदमा पनि निकै लामो छलफल भयो । र, हामीले सधैै यस्तो आयोग बनाईरहने, आयोगले प्रतिवेदन दिन या त ढिलाई गर्ने या त दिएपछि पनि त्यसको कार्यान्वयनमा नजाने । यो कारणले चाहीँ हामी झन जटिलतामा फस्दै गयौं । त्यसकारण आज यो आयोग बनेको यही घटना विशेषमा आधारित भएर नै छानविन र निचोड, निष्कर्षमा पुग्नेगरी एउटा अध्ययन गर्नेगरी आयोग बन्छ । अब चाहीँ यसलाई समग्रमा अध्ययन गर्नुपर्छ, हाम्रो सिष्टम माथि नै अध्ययन गर्नुपर्छ । त्यसैले यसको समग्र अध्ययनका लागि अव मन्त्रालयले प्रश्ताव गरोस । आउने क्याविनेटको बैठकमा हाम्रो सिस्टममाथिकै के समस्या हो, नीतिगत समस्या हो कि, कानूनी समस्या हो कि ? संरचनागत समस्या हो कि ? प्राविधिक समस्या कहाँ छन्, जनशक्ति दक्ष हुनका लागि हुने विभिन्न प्रकारका प्राविधिक तालिमहरुको स्थिति के हो ? अनुगमनको स्थिति के हो ? यो नियमनको स्थिति के हो ? भन्नेमा समग्र अध्ययनाका लागि एउटा आयोग बनाएर नै अध्ययन समिति बनाएर नै अघि बढ्ने गरी मन्त्रालयलाई उहाँहरुले निर्देशन दिनुभएको छ । त्यसपछि पनि म र सचिवज्युसमेत राति प्रधानमन्त्रीज्युसँग समेत यो विषयमा थप छलफल पनि गरेका छौं । हामी धेरै रातिसम्म छलफलमा नै थियौं ।’
मन्त्री पाण्डेले हवाई क्षेत्रको सिस्टममाथिकै के समस्या हो, नीतिगत समस्या हो कि, कानूनी समस्या हो कि ? संरचनागत समस्या हो कि ? प्राविधिक समस्या कहाँ छन्, जनशक्ति दक्ष हुनका लागि हुने विभिन्न प्रकारका प्राविधिक तालिमहरुको स्थिति के हो ? अनुगमनको स्थिति के हो ? यो नियमनको स्थिति के हो ? भन्नेमा समग्र अध्ययनका लागि सो आयोग गठन गर्न लागेको पनि स्पष्ट पार्नुभयो । —न्युज एजेन्सी नेपाल