प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालिन न्याय (टिआरसी) विधेयक संसदको चालु अधिवेशनबाटै पारित हुने बताउनुभएको छ ।
मंगलवार महान्यायाधिवक्ताको कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । प्रतिनिधि सभामा पेश गरिएको सो विधेयकबारे बुधवार (भोलि) राजनीतिक दलका नेताहरुले आफ्नो धारणा राख्ने कार्यसूचि तय गरिएको छ । प्रधानमन्त्री ओलीले नेताहरुले आफ्नो धारणा राखेपछि २ दिन भित्र सो विधेयक प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा जाने बताउनु भयो । उहाँले सो विधेयक संसदबाट पारित हुनुलाई ठूलो उपलब्धिको रुपमा लिनुपर्ने बताउनु भयो । प्रधानमन्त्री ओलीले सो विधेयकलाई पीडितमैत्री भएर अघि बढाइएको दाबी समेत गर्नुभयो । उहाँले सो विधेयकबारे अन्तर्राष्ट्रिय समुदायले सक्रियतापूर्वक चासो राखेको र त्यसलाई सफलताका साथ अघि बढाउने बताउनु भयो ।
उहाँले भन्नुभयो,‘हामी टिआरसीसम्बन्धि सत्य निरुपण तथा मेलमिलाप सम्बन्धि ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक समितिबाट पास भएर आज प्रतिनिधि सभामा पेश भएको छ । त्यस सम्बन्धमा भोलि पोलिटिकल लिडरहरुले आफ्नो राय व्यक्त गर्ने शिलशिला चल्छ । र त्यसपछि त्यो १, २ दिनमा पास हुन्छ । र राष्ट्रिय सभामा जान्छ । र राष्ट्रिय सभाको प्रोसेस केही दिन लिएपछि मैले त्यो प्रतिवेदन अस्तीनै हामीले सानो कार्यदल बनाएका थियौं ३ जनाको । त्यस कार्य दलले बुझाउँदाखेरी नै मैले भनेको थिए–यही अधिवेशनबाट हामी पास गर्छाैं भनेर । यही अधिवेशनबाट हामी यसलाई पास गर्छौ । र यो एउटा ठोस उपलब्धिको रुपमा, कोशेढुंगाको रुपमा काम हुनेछ । यो समायानुकुल ऐन, जसले पीडितमैत्री, पीडित केन्द्रित भएर अगाडि बढाउने हामीले कोशिस गरेका छौं । र यस सन्दर्भमा विभिन्न पक्षहरुसँग कुराकानी पनि गरेका छौं । र यसले सकारात्मक बाटो लिएको छ । अहिले विभिन्न देशहरुको पनि यसमा चासो छ । विभिन्न देशका एम्बेसडरहरुले पनि यस सम्बन्धमा चासो लिएका छन् । संयुक्त राष्ट्र संघको तर्फबाट होस् अथवा ब्रिटिसको होस्, अथवा विभिन्न देशका एम्बेस्सीहरु हुन् । सक्रिय छन् यसमा । र हामी यसलाई सफलताका साथ अघि बढाउँछौं भन्ने लाग्छ । त्यसमा कानूनी जटिलता र यहाँहरुको भुमिका, फेरि कानूनी परामर्शको सन्दर्भमा, संविधानको व्याख्याको सन्दर्भमा, त्यसको कार्यान्वयनको सन्दर्भमा लगायतका कुराहरुमा यहाँहरुको भूमिका असाधारण हुन्छ । र हामी विदेशीहरुको नक्कल धेरै गर्दैनौ । किनभने थुप्रै देशहरु भन्दा हामीले राम्रो प्रगति गरेका छौं यस मामिलामा । धेरै देशहरुको यो शिलशिला चलेको चल्यैं छ । त्यहाँ बाह्य खर्च पनि काफी आईराखेको छ । खर्च पनि भईराखेको छ । ठूलो जनशक्ति त्यस काममा लागिराखेको छ । तर उपलब्धि चाँही खासै गतिशील छैन । प्रगतिशील छैन स्थिति । हामीले पहिले द्धन्द्धरत पक्षलाई शान्ति प्रक्रियामा ल्यायौं । र, त्यसबाट उछिटिएका पक्षहरु विप्लव समूहलाई पनि हामीले मेन स्ट्रिममा ल्यायौं । मैले नै सम्वाद गरेर ल्याएको थिए । त्यसैगरेर सिके राउतको मोभमेन्ट त्यसलाई पनि हामीले ल्यायौं । र अहिलेको अवस्थामा सामाजिक सञ्जालको दुरुपयोग गर्ने, सामाजिक घृणा फैल्याउने, घृणा, असभ्यताको, असामाजिकताको अभ्यास गरेर त्यसलाई बढवा दिने, सामाजिक मूल्य, मान्यताहरु तोडने त्यस प्रकारको प्रयास भइराखेको छ । तर यहाँहरुलाई म भन्न चाहन्छु–यो नेपाली समाज हो । यहाँ अग्रगामी परिवर्तनका लागि आन्दोलनहरु भएका छन । आन्दोलन हुन्छन् । त्यस्ता आन्दोलनहरु धेरै अगाडि देखि भएका छन । तर यहाँ विद्वेष फैल्याउन सकिँदैन ।’
प्रधानमन्त्री ओलीले संक्रमणकालिन न्यायलाई सफलतापूर्वक अघि बढाउन नेपालले वाह्य नक्कल गरिरहन आवश्यक नभएको पनि बताउनु भयो । —न्युज एजेन्सी नेपाल