लोकतान्त्रिक प्रणालीविरुद्धको प्रवृत्तिप्रति सरकार सजग छः प्रधानमन्त्री ओली

.

प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक प्रणालीविरुद्धको प्रवृत्तिप्रति सरकार सजग रहेको बताउनुभएको छ ।

लोकतन्त्र विरुद्ध सामाजिक वन्धन, नैतिक वन्धन, इमानको वन्धनको वास्ता नगरेर चल्ने खालको केही प्रवृत्तिहरु मुलुकमा प्रकट भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यस्तो प्रवृत्तिबाट कसरी देशलाई मुक्त गर्ने ? भन्ने बारेमा सरकार सचेत रहेको बताउनुभएको हो । बुधवार प्रतिनिधि सभा बैठकमा मुलुकको समसामयिक परिस्थितिबारे आफ्नो धारणा राख्दै उहाँले यस प्रवृत्तिलाई निस्तेज पार्न सरकार सजग रहेको बताउनु भयो । प्रधानमन्त्री ओलीले केही वाञ्छित उपलब्धिहरु हासिल नभएको भन्दैमा ती विषयलाई अतिरञ्जनाका साथ प्रश्तुत गरेर प्रणालीकै विरुद्ध जाने खालको अभिव्यक्तिहरु सरकारका लागि सैह्य नहुने स्पष्ट पार्नुभयो । उहाँले लोकतान्त्रिक प्रणाली विरुद्ध देखापरेका प्रवृत्तिबाट देशलाई मुक्त गराउने काममा सरकार लागिपर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अहिले केही केही प्रवृत्तिहरु देखापर्न खोेजेका छन् । लोकतन्त्रको विरुद्धमा अथवा हामीेले रोजेर ल्याएर स्थापित गरेको, संघर्ष गरेर, बलिदान गरेर छानेको यस प्रणालीका विरुद्ध गन्तव्य के हो भन्ने स्पष्ट नगरिकन केही प्रवृत्तिहरु कहाँ पुग्ने भन्ने केही थाहा छैन, के बनाउने भन्ने कुरा थाहा छैन । तर प्रणाली भन्दा बाहिरका प्रवृत्तिहरु सामाजिक मर्यादा, सभ्यता, शिष्तटाका सीमाहरुलाई सामाजिक बन्धनहरु जो अदृश्य हुने गर्दछन् । लोकतन्त्र विरुद्ध सामाजिक वन्धन, नैतिकता वन्धन, इमानका वन्धन, यस्ता कुराहरुको वास्ता नगरेर चल्ने खालको केही प्रवृत्तिहरु प्रकट भएका छन् । यसप्रति हामी सजग रहनुपर्छ भन्नुको अर्थ यस्तो प्रवृत्तिबाट कसरी देशलाई मुक्त गर्ने ? यसका निम्ति विभिन्न ढंगले भडकाउन खोजिएको छ । समाजलाई भडकाउन खोजिएको छ । केही कमीकमजोरीहरु होलान् । केही वाञ्छित उपलब्धिहरु हासिल नभएका होलान् । ती विषयलाई अतिरञ्जनाका साथ प्रस्तुत गरेर प्रणालीकै विरुद्ध जाने खालको अभिव्यक्तिहरु प्रकट भएको देखिन्छ । त्यस सन्दर्भमा म भन्न चाहन्छु, सिंगै सदनलाई म आश्वस्त पार्न चाहन्छु र, देशलाई नै म भन्न चाहन्छु–सरकार यस मामिलामा सजग छ । हामी लोकतन्त्रका लागि लडेका हौं । लोकतन्त्रका लागि बलिदान दिएका हौं । बलिदान ख्यालख्याल कुरा होइन । संघर्ष, त्याग ख्यालख्याल कुरा होइन । कठिन कुरा हो । हामी कठिन बाटो हिँडेर, कठिन संघर्ष गरेर यो प्रणाली स्थापना गरेका हौं । धेरै जनताको रगत बगेको छ । एक जना, दुई जनाको होइन । धेरै जनताको रगत बगेको छ । मानिसका आयुको आयु गएका छन । म यहाँ स्मरण गर्न चाहन्छु–कोही नेताहरु निर्वासनमा नै बस्नुप¥यो । निर्वाचनमा नै मर्नुप¥यो । निर्वासनमा नै देशको बारेमा चिन्ता गर्दागर्दै, संघर्ष गर्दागर्दै निधन भएर शव समेत आफ्नो देश भित्र ल्याउन दिइएन । त्यो दिन हामीले व्यहोरेका छौं । निर्वाचित प्रधानमन्त्री अकारण जेल गएर बस्नु परेका दिनहरु हामीले याद गरेका छौं । निर्वाचित प्रधानमन्त्री बलजफ्ती अपदस्त गरिएका दिनहरु हामीले देखेका छौं ।’
प्रधानमन्त्री ओलीले लोकतान्त्रिक प्रणालीलाई अपनाउने सम्बन्धमा राजनीतिक दलहरुबीच फरक मत नभएको पनि बताउनु भयो । —न्युज एजेन्सी नेपाल