विद्युत उत्पादनमा जोड दिन उर्जा राज्यमन्त्री तामाङको आग्रह

.

ऊर्जा जलस्रोत तथा सिंचाई राज्यमन्त्री पूर्णबहादुर तामाङले विद्युत उत्पादनमा जोड दिन आग्रह गर्नुभएको छ ।

बिहीवार काठमाडौंमा आयोजित सम्मान कार्यक्रममा बोल्दै राज्यमन्त्री तामाङले यस्तो बताउनुभएको हो । उहाँले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले भारतभ्रमणमा जाँदा  १० वर्षमा १० हजार मेगावट विद्युत निर्यात गर्ने सम्झौता भए बमोजिम भारतमा विद्युत निर्यातको लागि प्राधिकरणले उत्पादनमा जोड दिनुपर्ने बताउनु भयो । उहाँले हाईड्रोपावर बनाउन लाइसेन्स लिएको दुई वर्षमा काम शुरु गर्ने भएपनि लाइसेन्स लिएर घरमा राख्ने अवस्थाको अन्त्य गर्न आवश्यक रहेको बताउनु भयो ।उहाँले जलविद्युत उत्पादनको लागि भएका बैंक तथा वनका समस्यामा सरकार सहजिकरण गर्न तयार रहेको बताउनु भयो । उहाँले भारतले नेपाललाई पेट्रोलियम पदार्थमा हरेक महिना दुई पटक मूल्य घटाउने र बढाउने गरेकोप्रति आपत्ति जनाउनु भयो ।
उहाँले भन्नुभयो,‘भारतमा १० वर्षमा १० हजार मेगावट विद्युत निर्यात गर्ने सम्झौता भएको छ । त्यसको लागि विद्युत प्राधिकरणले विद्युत उत्पादन वृद्धि गरी निर्यात गर्नुपर्छ । जसरी भारतले नेपाललाई महिनामा दुई पटक पेट्रोलियम पदार्थको मूल्य बढाउने र घटाएर पठाउने गरेको छ । नेपालबाट भारतमा विद्युत निर्यात गर्दा पनि अब विद्युत प्राधिकरणले अबको १० वर्षभित्रमा महिनामा बढाउने र घटाएर पठाउने गर्न कार्यकारी निर्देशक कुलमान जीलाई अनुरोध गरे । हाईड्रोपावर बनाउन लाइसेन्स लिएको दुई वर्षमा काम शुरु गर्नुपर्ने हुन्छ । तर लाइसेन्स लिएर त्यतिकै बस्ने प्रवृति हटाउनु पर्छ । लाइसेन्स लिएपछि ६ महिना भित्र काम शुरु गर्नुपर्छ । त्यसको लागि नेपाल सरकार ऊर्जा मन्त्रालय जिम्मेवारी बस्ने कुरामा तयार छ । बैंक तथा वनका समस्यामा सरकार सहजिकरण गर्न तयार छ । हाईड्रोपावरको लाइसेन्स लिएर बस्ने लामो समय काम नगर्ने प्रवृति हटाउनुपर्छ । लाइसेन्स लिने तर काम शुरु नगर्ने हो भने मुलुकलाई फाइदा छैन । मुलुकमा जति धेरै जलविद्युत उत्पादन गर्न सक्ने मात्रै उज्यालो निर्माण गर्नसक्छौँ ।’

उहाँले मुलुकमा धेरै भन्दा धेरै जलविद्युत उत्पादन गर्नसके मात्रै उज्यालो देश बनाउन सकिने बताउनु भयो । —न्युज एजेन्सी नेपाल