रक्षामन्त्रीद्वारा थामे क्षेत्रको अवलोकन, शतर्क रहन आग्रह

.

रक्षामन्त्री मानवीर राईले खुम्बु पासाङल्हामु गाउँपालिका ५ मा पर्ने खुम्बु थामे क्षेत्रको अवलोकन एवं निरीक्षण गर्नुभएको छ ।

शुक्रवार दिउँसो खुम्बु पासाङल्हामु गाउँपालिका ५ मा पर्ने खुम्बु थामे क्षेत्रमा हिमताल फुटेर आएको लेदोसहितको बाढी आएको थियो । जसबाट गाउँपालिकाका केही घरहरु डुबानमा परेका छन् । केही घरहरुको पूर्ण क्षति भएको छ । हिम पहिरो बाढीका रुपमा आएसँगै गाउँ क्षतिग्रस्त भएको हो । निरीक्षणका क्रममा मन्त्री राईले गाउँवासीलाई होशियारीका साथ रहन आग्रह गर्नुभयो । उहाँले तत्काल गर्नसक्ने जति आफूले गर्ने र प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुरा राखेर थप निर्णय लिइने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘तपाईंहरुलाई होशियारका साथ रहन अनुरोध गर्न चाहन्छु । तत्काल हामी के गर्नसक्छौँ ? प्रदेश सरकारका प्रतिनिधि र स्थानीय तह एवं केन्द्र सरकारबाट के गर्न सकिन्छ त्यो गर्नेछौँ । हामी यहाँको समस्या जस्ताको त्यस्तै सम्माननीय प्रधानमन्त्रीसमक्ष राख्नेछौँ ।’

सो क्षेत्रमा अहिले पनि उद्धार र राहतको कार्य भइरहेको छ । खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङमाछिरी शेर्पाले विपद्मा परेका स्थाानीयहरुलाई उद्धार र राहतको काम जारी रहेको बताउनु भयो । —न्युज एजेन्सी नेपाल