काठमाडौं – नेपाली फिल्म ‘द सेक्रेट अफ राधा’ प्रदर्शन मिति भदौ २४ लाई तोकिएको छ। महाशिवरात्रिको अवसर पार्दै फिल्मका निर्देशक सुवर्ण थापाले मंगलबार फिल्मको प्रदर्शन मिति सार्वजनिक गर्नुभएको हो ।
सामाजिक मुद्दामा बनेको नारीप्रधान फिल्ममा सृष्टि श्रेष्ठ केन्द्रीय भूमिकामा देखिनुभएको छ । फिल्ममा सृष्टिसँगै खगेन्द्र लामिछाने, दयाहाङ राई, निश्चल बस्नेत, मेनुका प्रधानलगायत कलाकारको मुख्य भूमिका रहेको छ।
‘राधा’ मार्फत अभिनेता सौगात मल्लले पनि फिल्म निर्माणमा हात हाल्नुभएको छ । सौगात र निर्देशक थापाको संयुक्त लगानीमा यो फिल्म बनेको हो ।
फिल्मको प्रदर्शन मिति सार्वजनिक गर्न पाउँदा हर्षित रहेको निर्देशक थापाले सामाजिक सञ्जालमार्फत जनाउनुभएको छ । साथै फिल्म निर्माणको क्रममा जोडिएका सबैप्रति आभार पनि व्यक्त गर्नुभएको छ ।
थापाको निर्देशनमा अर्को फिल्म ‘म’ निर्माणको क्रममा रहेको छ। योबाहेक उहाँले ‘सुनगाभा’ र ‘फन्को’ निर्देशन गरिसक्नुभएको छ । जसमध्ये ‘सुनगाभा’ ले अन्तरराष्ट्रिय स्तरमै चर्चा कमाएको थियो।