प्रधानमन्त्री केपी शर्मा ओलीले पुँजीबजारमा उल्लेखिय सुधार हुनु राष्ट्रका घोषित उद्देश्य पूरा गर्न सरकारले लिएको नीतिको सकारात्मक संकेत भएको बताउनु भएको छ ।
बिहीवार प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नउत्तर कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । उहाँले पुँजी बजारको सुधार र निजी क्षेत्रमा लगानी गर्ने मनोबलसहित उत्साह देखिनु सकारात्मक पक्ष भएको बताउनु भयो । उहाँले जनतामा रहेको निराशालाई आशामा बदल्ने प्रयासमा सरकार रहेको बताउनु भयो । प्रधानमन्त्री ओलीले सरकार गठन भएको छोटो समयमा केही परिणाम देखिन थालेको बताउनु भयो । उहाँले गत वर्षको तुलनामा चालु आर्थिक वर्षको साउन महिनामा मात्रै राजश्व परिचालन र पुँजीगत खर्चमा वृद्धि भएको बताउनु भयो । उहाँले घरजग्गा कारोबार समेत क्रमशः वृद्धि हुँदै गएको बताउनु भयो । उहाँले सरकारले जनतामा निराशा होइन आशा जगाउँदै जाने उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो,‘जनतामा रहेको निरासालाई आशामा बदल्ने प्रयासमा लागेका छौं । यस अनुसारका परिणाम पनि छोटो अवधिमा देखापर्न थालेका छन् । गत वर्षको तुलनामा चालु आर्थिक वर्षको साउन महिनामा मात्रै राजश्व परिचालन र पुँजीगत खर्चमा वृद्धि भएको छ । घरजग्गा कारोबार क्रमश वृद्धि हुँदै गएको छ । पुँजीबजारमा उल्लेख्य सुधार आएको छ । निजी क्षेत्रमा लगानी गर्ने मनोवल सहित उत्साह देखिएको छ । राष्ट्रका घोषित उद्देश्य पूरा गर्न सरकारले लिएको नीतिको यो सकारात्मक संकेत हो । यस्ता कुराहरुले जनतामा निरासा होइन आशा जगाउँदै जानेछ । भ्रष्टाचारमा सरकारले लिएको शुन्य सहनशिलताको नीति मौखिक प्रतिवद्धता वा देखावटी होइन । कुनै एस्क्युज खोज्दैन काम गर्छ । भ्रष्टाचारको विषय हल्लाको विषय मात्रै बन्नुहुँदैन । कानूनी अनुसन्धान र नतिजामुखी हुनुपर्दछ ।’
उहाँल भ्रष्टाचार नियन्त्रणमा सरकारले लिएको शुन्य सहनशिलताको नीति मौखिक प्रतिवद्धता वा देखावटी नभएको बताउनु भयो । उहाँले भ्रष्टाचारको विषय हल्लाको विषय मात्रै बन्नु नहुने भन्दै सरकारले कानूनी अनुसन्धान र नतिजामुखी बनाउने प्रतिवद्धता जनाउनु भयो । —न्युज एजेन्सी नेपाल