काठमाडौं, सानो भर्याङस्थित स्वस्तिश्री गुरुकुल आईबी वर्ल्ड स्कूलले आफ्नो विद्यालयमा आयोजित विशेष समारोह साथ आई.बी एम.वाई.पी (मिडल इयर प्रोग्राम) स्वीकृति घोषणा कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ । विद्यार्थी, शिक्षक र विद्यालयका कर्मचारीहरूको उपस्थितिका साथ सम्पन्न कार्यक्रममा बिद्यार्थीहरुले गायन तथा नृत्य प्रस्तुतीका साथै आईबी एम.वाई.पी मिडल इयर प्रोग्रामबाट प्राप्त सिकाई अनुभव प्रस्तुत गरेका थिए ।
कार्यक्रममा वाग्मती प्रदेश सरकारका माननीय मुख्यमन्त्री बहादुर सिंह लामाको प्रमुख अतिथिको रुपमा उपस्थिति रहेको थियो । आफ्नो मन्तव्य राख्दै उहाँले स्वस्तिश्री गुरुकुललाई यस प्रतिष्ठित र गौरवपूर्ण उपलब्धिको लागि बधाई दिनुभयो साथै शैक्षिक उत्कृष्टता र योगदानमा विद्यालयको समर्पणको मुक्तकण्ठले प्रशंसा गर्नुभयो ।
कार्यक्रममा उपस्थित विशेष अतिथि वाग्मती प्रदेश सरकारका माननीय सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले पनि मन्तव्य राख्दै विद्यालयले बालबालिकाहरुको समग्र विकासलाई प्रवर्द्धन गर्ने वातावरण निर्माणमा गरेको अथक प्रयासको प्रशंसा गर्नुभएको थियो ।
कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष, पूर्वमन्त्री तथा ललितपुरका प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र २ का माननीय श्री रामकृष्ण चित्रकारले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि गुणस्तरीय शिक्षा प्रदान गर्न स्वस्तिश्री विद्यालय अनवरत रुपमा लागिरहने आफ्नो प्रतिबद्धता दोहोर्याउनु भएको थियो ।
कार्यक्रममा विद्यालयकी प्रबन्ध निर्देशक मिना महर्जन चित्रकार, विद्यालय सूचना तथा संचार प्रमुख चीराग वाङ्देल र विद्यालयका प्रधानाध्यापक नेहा केसीको पनि उपस्थिति रहेको थियो । विद्यालयकी प्रधानाध्यापक नेहा केसीले आईबी एम.वाई. पी स्वीकृति प्राप्तिमा विद्यालय शिक्षकहरुको मेहेनत, लगाव साथै अभिभावकहरुको निरन्तर साथको प्रसंशा गर्दै सबैलाई धन्यवाद व्यक्त गर्नुभएको थियो । छोटो समयमै विद्यालयले प्राप्त गरेको एक पछिको अर्को उपलब्धिप्रति उपस्थित अभिभावकहरुले खुशी व्यक्त गर्नुभएको थियो ।