नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेसमा स्वस्थ प्रतिष्पर्धा हुनुपर्ने बतानुभएको छ ।
शनिवार ललितपुरमा आयोजित पार्टी निकट इन्जिनियरहरुको भेलामा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । काँग्रेस प्रजातान्त्रिक पार्टी भएकाले स्वस्थ प्रतिष्पर्धा हुनुपर्ने उहाँको भनाइ थियो । उहाँले नेपाल इन्जिनियर्स एशोसिएशनको निर्वाचनमा जित हासिल हुनेगरी तयारी गर्न पनि पार्टी निकट इन्जिनियरहरुलाई निर्देशन दिनुभयो । आगामी भदौ २८ गते ललितपुरमा सो निर्वाचन हुँदैछ । सभापति देउवाले सो निर्वाचनमा पार्टी समर्थित इन्जिनियरहरुले जित्नुपर्ने धारणा राख्नुभयो । उहाँले त्यसका लागि एकतावद्ध भएर सकेसम्म सहमतिमै उम्मेदवार चयन गर्न पनि सचेत गराउनु भयो ।
उहाँले भन्नुभयो,‘अहिले तपाईहरु आपसमा मिलेर जानुस । भरसक तपाईहरु मिलेर जानु बेस हुन्छ । भोलिको चुनावमा नेपाली काँग्रेसमा समर्थित साथीहरुले यो चुनावमा जित्नुपर्छ भन्ने हाम्रो धारणा छ । त्यसकारण साथीहरुले त्यसै अनुरुप सब एक भएर आपसमा एकतावद्ध भएर पहिला आपसमा नै सहमती गर्नुस् । सहमती हुन सकेन भने पनि स्वस्थ प्रतिस्पर्धात्मक तरिकाले मित्रवत रुपमा चुनाव गर्नुस । र भोलि आउने चुनौतिहरुमा नेपाली काँग्रेस पार्टी छ । यो डमोक्रेटिक पार्टी हो । त्यसले यो इन्जिनियर्सजस्तो संस्थाहरुमा नेपाली काँग्रेस समर्थित साथीहरु छन् । अझ बढी यसलाई बलियो बनाएर काँग्रेस समर्थितलाई ल्याएर भोलीका भविष्यको राजनीतिमा सम्पूर्ण प्राविधिक क्षेत्रमा नेपाली काँग्रेसको विजय होस् भन्ने कामना गर्न चाहन्छु । तपाईहरुले जित्नुहोस भन्ने हार्दिक कामना गर्दछु ।’
सभापति देउवाले सो एशोसिएशनको निर्वाचनमा जित हासिल गर्नका लागि आन्तरिक रुपमा एकतावद्ध भएर अघि बढ्न पनि पार्टी निकट इन्जिनियरहरुको ध्यानाकर्षण गराउनु भयो । —न्युज एजेन्सी नेपाल