नयाँ पुस्ताले सभ्यता, शिष्टता र मर्यादा बिर्सिएः प्रधानमन्त्री

.

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ पुस्ताले सभ्यता, शिष्टता र मर्यादा बिर्सिएको बताउनुभएको छ ।

सोमवार काठमाडौंको टुँडिखेलमा गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नयाँ पुस्ताले आफ्नो परम्परा र संस्कृतिअनुसार सभ्यतार शिष्टता बिर्सिएको देख्दा अचम्मित भएको बताउनु भयो । उहाँले नयाँ पुस्ताको अकर्मण्यता नेपालीपन नभएको बताउनु भयो । उहाँले नेपालीपन र नेपाली संस्कृतिलाई बढावा दिन युवाहरुलाई आग्रह गर्नुभयो । उहाँले नेपाल मेलमिलाप, शान्तिपूर्ण देश भएको बताउनु भयो । उहाँले नेपाली समाज संस्कृतिले भरिपूर्ण समाज भएको भन्दै नेपाली समाज जति बिथोल्न खोजेपनि र जति भाँड्न खोजेपनि नभाँडिने जिकिर गर्नुभयो । उहाँले नेपालको मौलिक कला र संस्कृतिको जगेर्ना गरी विश्वव्यापी फैल्याउनुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘गौरा पर्व हामी हर्षोल्लासपूर्वक मनाइरहेका छौँ । यस्ता चाड पर्वहरु जसले नेपालको परिचय दिएका छन् । पहिचान दिएका छन् । नेपालको आफ्नो पन देखाएका छन् । यस्ता चाडहरुको निरन्तरता यहाँहरुले दिइरहनु पर्छ । नेपाल संस्कृतिको हिसावले अत्यन्तै धनी देश हो । सांस्कृतिक हिसावले विविधतायुक्त देश हो । पूर्वदेखि पश्चिम, उत्तरदेखि दक्षिणसम्म सानो देशमा विविध संस्कृतिहरुले युक्त छ । यो देशलाई वास्तवमा अत्यन्त आकर्षक बनाउने प्राकृतिक सुन्दरता मात्रै होइन, मानवीय र सांस्कृतिक सुन्दरताले पनि यो देशलाई अत्यन्त सुन्दर बनाएको छ । नेपाली जनता आफ्ना चाडबाडप्रति अत्यन्तै उत्साहित छन् । नयाँ पुस्तामा हाम्रो सभ्यता, शिष्टता कस्तो हो, मर्यादा कस्तो हो भन्ने बिर्सिन खोजेको देख्दा अचम्म लाग्छ । यस्ता घटनाहरु विभिन्न स्थानमा देखिने गरेका छन् । अरुका कार्यक्रम बिथोल्ने गरेका छन् । म आग्रह गर्न चाहन्छु, यो नेपालीपन होइन,नेपाली संस्कृति होइन । नेपालीपन र नेपाली संस्कृतिलाई बढावा दिऔँ । हाम्रो देश मेलमिलापको देश हो । शान्तिपूर्ण ढंगले चल्ने देश हो । नेपाली समाज जति बिथोल्न खोजेपनि, जति भाँड्न खोजेपनि बिथोलिन र भाँडिन मान्दैन । नेपाली समाज, संस्कृतिले भरिपूर्ण समाज हो । नेपालको मौलिक कला र संस्कृतिको जगेर्ना गर्नुपर्छ । विश्वव्यापी रुपमा फैल्याउनु पर्दछ ।’

प्रधानमन्त्री ओलीले गौरा लगायत पर्वहरुले नेपालको पहिचान दिएको बताउनु भयो । —न्युज एजेन्सी नेपाल