डा.मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी निस्काषन गर्ने रास्वपाको निर्णय

.

राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्वमहामन्त्री डा.मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।

मंगलवार पार्टी केन्द्रिय कार्यालय वनस्थलीमा बसेको पार्टीको केन्द्रिय समितिको बैठकले पूर्वमहामन्त्री ढकाललाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो । बैठकका निर्णय जानकारी गराउँदै पार्टीका कायममुकायम प्रवक्ता मनिष झाले बैठकले अनुशासनात्मक कारबाहीअन्तर्गत पूर्वमहामन्त्री डा.मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको बताउनु भयो । उहाँले बैठकमा पार्टी सभापति रवि लामिछानेले वर्तमान राष्ट्रिय राजनीतिको बारेमा जानकारी गराउनुभएको, आश्विन १ र २ गते हुन लागेको राष्ट्रिय भेलासम्बन्धी तयारीबारे छलफल भएको बताउनु भयो । उहाँकाअनुसार बैठकले राष्ट्रिय भेलासम्बन्धी तयारीका लागि १५ वटा उपसमिति गठन गरेको बताउनु भयो । उहाँले वडादेखि नै छायाँ सरकारको परिकल्पना गरी त्यसको अभ्यास गरिरहेको र त्यसको कार्यविधि बैठकमा प्रश्तुत गरिएको पनि जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘सभापतिबाट वर्तमान राष्ट्रिय राजनीतिको बारेमा जानकारी भयो । आश्विन १ र २ गते हुन लागेको राष्ट्रिय भेलासम्बन्धी तयारीबारे छलफल भयो । १५ वटा उपसमिति गठन भयो । वडादेखि नै छायाँ सरकारको परिकल्पना गरी त्यसको अभ्यास गर्दैछौँ । त्यसको कार्यविधि प्रश्तुत भयो । अनुशासनात्मक कारबाहीअन्तर्गत पूर्वमहामन्त्री डा.मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेका छौँ । पार्टीको संरचना अझै सशक्त बनाउने,दलका केन्द्र र विभागमा रहेका सबै दिदिबहिनीहरुले भाद्र १९ गते पार्टी केन्द्रिय कार्यालय परिसरमा तिजको कार्यक्रम गर्ने । त्यसमा सर्वदलीय रुपमा बोलाउने । महिला राजनीतिज्ञहरुलाई बोलाउने ।’
प्रवक्ता झाले पार्टीको संरचना अझै सशक्त बनाउने बारेमा पनि छलफल भएको बताउनु भयो । आफ्नो पार्टीमा रहेका महिलाहरुले भदौ १९ गते सर्वदलीय महिला राजनीतिज्ञहरुलाई बोलाएर तिज विशेष कार्यक्रम पार्टी केन्द्रिय कार्यालयमा गर्ने निर्णय भएको बताउनु भयो । —न्युज एजेन्सी नेपाल