काठमाडौं – सत्तारुढ गठबन्धनले संसदमा जारी अवरोध अन्त्य गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग आग्रह गरेको छ ।
बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका चार दलले लामो समयसम्म संसदमा अवरोध हुँदा जनतामा वितृष्णा उत्पन्न भएको भन्दै अवरोध अन्त्य गर्न एमालेसँग आग्रह गर्ने निर्णय गरेको हो ।
‘लामो समयदेखि सार्वभौम संसद् चल्न सकेको छैन । संसद अवरुद्ध भएकाले हवाइ सेवा प्राधिकरण जस्ता महत्त्वपूर्ण विधेयकमा संसदमा गम्भीर रूपले छलफल गर्ने अवस्था छैन,’ बैठकपछि सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘संसद् यति लामो समय सञ्चालन नहुँदा संसद्प्रति नै जनतामा नकारात्मक धारणा भएकोले प्रमुख प्रतिपक्षी दललाई संसद् सञ्चालन गरेर राष्ट्रका यावत समस्याको विषयमा छलफल गर्ने वातावरण बनाउन आग्रह गर्ने निर्णय गरेका छौं ।’
त्यस्तै, बैठकले वैशाख ३० मा हुनेमा स्थानीय तहको चुनावमा सकेसम्म मिलेर जाने निर्णय गरेको छ । स्थानीय तहको सबै ठाउँमा गठबन्धन गरेर जान सकिने अवस्था नभएको तर, सकेसम्म मिलेर जानेमा गठबन्धनभित्र एक मत रहेको प्रवक्ता कार्कीको भनाई छ । त्यसका लागि आ-आफ्ना दलभित्र छलफल गरेर थप निर्णय लिने उनले बताए ।
बैठकमा अहिलेसम्मका काम कारबाहीको समीक्षा गर्दै साझा न्युनतम कार्यक्रमलाई कार्यन्वयन केन्द्रित हुने निर्णय पनि भएको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्तासमेत रहेका कार्की, कांग्रेस नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादवलगायतका नेता बैठकमा सहभागी रहेका थिए ।