संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नीतिगत रुपान्तरणमा इतिहासमै कुनैपनि मन्त्रीले नगरेको काम गरेको दाबी गर्नुभएको छ ।
मंगलवार मन्त्रालयमा नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को ध्यानाकर्षण पत्रपछि बोल्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले इतिहासमै अर्को कुनै मन्त्रीले नगरेको प्रयास आफूले गरेको भन्दै अहिले नीतिगत रुपान्तरणमा निकै ठूलो प्रयास भइरहेको बताउनु भयो । उहाँले आउने हिउँदे अधिवेशनमा पर्यटन मन्त्रालयबाट जाने ऐनहरुको लाइन लाग्ने जिकिर गर्नुभयो । उहाँले संस्कृति नीति तयार भइरहेको, पर्यटन नीति, समसामयिक नीति तयार भइरहेको बताउनु भयो । हवाई नीति, नयामक निकाय र सेवा प्रदायक निकायको विधेयक पनि अघि बढाइने जानकारी दिनुभयो । उहाँले आन्तरिक उडानमा दुर्घटनामा पर्ने र अन्तर्राष्ट्रियमा दुर्घटनालाई लिएर समायोजन, एकरुपता र न्यायोचित बनाउने गरी बीमा सम्बन्धी ऐन ड्राफ्ट गरिरहेको बताउनु भयो । गैरसैनिक हवाई उड्डयनको विधेयक पनि तयार गरिरहेको बताउनु भयो । उहाँले पर्यटन ऐन, लुम्बिनी विकास कोषको ऐन र पशुपति क्षेत्र विकास कोषको ऐनमा समसामयिक परिवर्तनसहित तयार गरिरहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘नीतिगत रुपान्तरणमा निकै ठूलो प्रयास गरेको छु । मलाई लाग्छ, मैले घमण्ड गरेको जस्तो हुन्छ । इतिहासमै अर्को कुनै मन्त्रीले नगरेको प्रयास मैले गरेको छु । नीतिगत रुपमान्तरणका लागि । मैले अहिले ऐनहरु आउने हिउँदे अधिवेशनमा पर्यटन मन्त्रालयबाट जाने ऐनहरुको लाइन लागेर ऐनहरु जाने गरी तयारी गरेका छौँ । संस्कृति नीति तयार हुँदैछ । पर्यटन नीति, समसामयिक नीति तयार हुँदैछ । हवाई नीति तयार हुँदैछ । नियामक निकाय र सेवा प्रदायक निकायको विधेयकलाई असफल बनाउने विभिन्न खालको काम भयो । मैले जे जस्तो अवस्थामा छ खोजौँ, पठाइहालौँ भनेर मन्त्रीपरिषद्को विधेयक समितिमा छ । आन्तरिक उडानमा दुर्घटनामा पर्ने र अन्तर्राष्ट्रियमा दुर्घटनामा पर्नेका बीचमा ठूलो अन्तर थियो । त्यसलाई समायोजन, एकरुपता र न्यायोचित बनाउने गरी बीमा सम्बन्धी ऐन ड्राफ्ट गर्दैछौँ । अर्को गैरसैनिक हवाई उड्डयनको विधेयक पनि तयार गर्दैछौँ । प्लेनहरु दुर्घटनापछि जाँच्न पर्मानेन्ट जाँचबुझ आयोग हुन्छ अरु देशमा त्यो गठन गर्न त्यो विधेयक तयार हुँदैछ । पर्यटन ऐन, लुम्बिनी विकास कोषको ऐनमा समसामयिक परिवर्तनसहित तयार हुँदैछ । पशुपति क्षेत्र विकास कोषको ऐन समसामयिक परिवर्तनका लागि तयार हुँदैछ । एकदमै ठूलो नीतिगत र कानूनी रुपान्तरणका लागि प्रयास हुँदैछ ।’
मन्त्री पाण्डेले ठूलो नीतिगत र कानूनी रुपान्तरणका लागि प्रयास भइरहेको जिकिर गर्नुभयो ।— न्युज एजेन्सी नेपाल