आन्तरिक उडानका लागि आवश्यक विमान नै छैनन्ः पर्यटनमन्त्री पाण्डे

.

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले आन्तरिक उडानलाई व्यवस्थित बनाउन विमानहरुको कमी रहेको गुनासो गर्नुभएको छ ।

मंगलवार मन्त्रालयमा नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को ध्यानाकर्षण पत्रपछि बोल्दै उहाँले यस्तो बताउनुभएको हो । नेविसंघले अहिले चाडपर्वको समय रहेको र मनसुनजन्य विपद्का कारण सडक सञ्जाल अवरुद्ध रहेकाले हवाई उडानमार्फत चाडवाडका लागि गाउँ फर्किनेहरुको व्यवस्थापन गर्न र हवाई भाडा वृद्धि भएकोमा नियन्त्रण गर्न मन्त्री पाण्डेको ध्यानाकर्षण गराएका थिए । ध्यानाकर्षणपछि बोल्दै मन्त्री पाण्डेले नेपालमा अहिले ५२ वटा विमानस्थलहरु रहेको र सबै सञ्चालन गर्न विमानहरुको अभाव रहेको बताउनु भयो । उहाँले आन्तकिर ट्विनएटर विमानहरु ९÷१० वटा मात्रै भएकाले सञ्चालन गर्न कठिनाइ भइरहेको बताउनु भयो । उहाँले नेपाल एयरलाइन्सको जम्मा एउटा मात्रै ट्विनएटर रहेको भन्दै समाधान गर्ने दिशामा निगमलाई कसरी सुधार गर्न सकिन्छ भन्नेबारेमा सरकारले आवश्यक काम गरिरहेको बताउनु भयो । उहाँले निजी क्षेत्रलाई थप विमान ल्यान प्रोत्साहन गर्नेगरी सरकार अघि बढिरहेको बताउनु भयो । ७ वटा प्रदेशले सात वटा ट्विनएटर किनेर सञ्चलन गर्नेकुरा आफूले पूर्वपर्यटनमन्त्रीहरुसँग छलफल गरिसकेको पनि जानकारी ग्राउनु भयो । उहाँले राहत तथा उद्धारका लागि पनि चाहिने जति हेलिकप्टरहरु नरहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘फ्लाइटहरुको सन्दर्भमा पनि हामीले सत्य बुझिराख्नुपर्छ । नेपालमा अहिले ५२ वटा एयरपोर्टहरु छन् । ५२ वटा एयरपोर्टमा सबै एयरपोर्ट सञ्चालन होस् भन्ने सबैको चाहना छ । तर प्लेनहरु हामीसँग छैनन् । डोमेस्टिक ट्विनएटरहरु जम्मा ९÷१० वटा मात्रै छन् । त्यसले भ्याउने अवस्था छैन । नेपाल एयरलाइन्सको त एउटा ट्विनएटर छ । मुख्य एयरक्राफ्टहरुकै कमी ठूलो समस्याको रुपमा छ । त्यसलाई समाधान गर्ने दिशामा निगमलाई कसरी सुधार गर्ने ? निजी क्षेत्रलाई पनि थप प्लेन ल्याउनुस् भन्न प्रोत्साहन गर्नुपर्ने स्थिति छ । निजी क्षेत्रलाई अफ्ठ्यारो पारेर व्यवसाय नै नचल्ने अवस्था बनाए व्यवसाय छोड्ने अवस्था हुन्छ । ७ वटा प्रदेशले सात वटा ट्विनएटर किन्नेकुराको लिड गर्नुपर्ने प्रश्ताव मैले गरेको छ । तिनीहरुलाई सम्बन्धित ठाउँमा राखेर प्रदेशका पहाडी जिल्लामा चल्छन् । निजी क्षेत्रलाई गाली गरेर मात्रै हुँदैन, प्रोत्साहन पनि गर्नुपर्छ । लगानी गर, यो क्षेत्र सुरक्षित छ भनेर प्रोत्साहन गर भन्नुपर्ने छ । प्लेन नै छैन, जसरी पनि उडाइदिनुस् भनेपछि स्वभाविक रुपमा बार्गेनिङ बढ्ने भयो । आवश्यक हलिकप्टर नै छैनन् ।’

मन्त्री पाण्डेले सरकारसँग आन्तरिक उडानका लागि आवश्यक विमान नहुनु र निजी क्षेत्रलाई आग्रह गर्दा स्वभाविक रुपमा बार्गेनिङ हुने गरेको बताउनु भयो । —न्युज एजेन्सी नेपाल