सरकारले सहकारी छानविन समितिको प्रतिवेदन अविलम्व कार्यान्वयन गरोस्ः सभामुख घिमिरे

.

सभामुख देवराज घिमिरेले सरकारले सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको प्रतिवेदन अविलम्व कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ ।

बुधवार समितिको अनुसन्धानको क्रममा सहयोग पु¥याउने विभिन्न व्यक्तिहरुलाई कदरपत्र वितरण गर्न आयोजित कार्यक्रममा बोल्दै सभामुख घिमिरेले समितिको प्रतिवेदन सरकारले अविलम्व कार्यान्वयन गर्नुपर्ने धारणा राख्नुभएको हो । उहाँले प्रतिनिधि सभाले प्रतिवेदन सभामा पेश हुनासाथ सरकारलाई हस्तान्तरण गरेको भन्दै प्रतिवेदनको कार्यान्वयन गरी सहकारीहरुलाई ठिक ढंगले सञ्चालन गर्ने काम सरकारले गर्नुपर्ने बताउनु भयो । उहाँले समितिले समझदारीका साथ प्रतिवेदन ल्याएर संसदीय समितिले दलिय दृष्टिकोण भन्दा माथि उठेर समस्या केन्द्रित भएर काम गर्नसक्छ भन्ने उदाहरण प्रश्तुत गरेको पनि बताउनु भयो । उहाँले प्रतिवेदन कार्यान्वयनमा सरकारले तत्परता देखाउनुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘यसले संसदमा परिआइसकेपछि समझदारीपूर्ण ढंगबाट समग्रतामा समेटेर दलिय दृष्टिकोण र आधारमा होइन समस्यामा केन्द्रित भएर काम गर्नसक्छ र गर्दोरहेछ भन्ने कुराको उदाहरण दिएको छ । अविलम्व सरकारले यसलाई कार्यान्वयन गर्ने कामहरु गरोस् । किनभने प्रतिनिधि सभाले सरकारलाई कार्यान्वयन गर्न प्रतिवेदन बुझाएकै दिन त्यहीँबाट हस्तान्तरण गरिसकेको स्थिति छ । त्यसैले अब यसलाई कार्यान्वयन गर्दै नेपालमा सहकारीलाई ठिक ढंगबाट सञ्चालन गर्ने कामको जिम्मेवारी सरकारले छिट्टै पूरा गर्न सकोस् । अबको हाम्रो दायित्व आगामी दिनमा संसदको यो निष्कर्षलाई व्यवहारिक रुपबाट कार्यान्वयन गर्ने कुराले संसदले दिएको निर्णय र निष्कर्षहरुले व्यवहारिक रुप लिनसक्छ । समस्याको समाधान गर्नसक्छ र यसको एउटा यस्तो उदाहरण बन्ने छ कि कुनैपनि समस्याहरु आए भने प्रतिनिधि सभाले हल गर्नसक्छ भन्ने कुराको प्रमाणको रुपमा जान सकोस् । सरकारले त्यो तत्परता देखाउन सकोस् ।’

उपसभामुख इन्दिरा रानाले समितिले विवेकपूर्ण र न्यायोचित रुपमा सत्यतथ्यमा आधारित भएर प्रतिवेदन ल्याएको विश्वास व्यक्त गर्नुभयो । उहाँले समितिले कसैप्रति लक्षित नभइ कसैको दबाबमा नपरी प्रतिवेदन ल्याएको भन्दै विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो – ‘मलाई लाग्छ तपाईहरुले विवेकपूर्ण, न्यायोचित, आफ्नो कार्यादेश भित्र बसेर सत्यतथ्य जे भेट्नुभयो त्यही जस्ताको तस्तै प्रतिवेदनमा उतार्नुभयो भन्ने मलाई विश्वास लागेको छ । कुनै आग्रह, पूर्वाग्रह नराखी । कसैप्रति लक्षित नभई, कसैको दबाबमा नपरी आफ्नो जिम्मेवारी निर्वाह गर्नुभयो भन्ने मेरो विश्वास छ । तयार गरेको प्रतिवेदनले देशभरी पीडामा भएका व्यक्तिहरु(पीडित)को आँशु पुछियोस् । कसैप्रति लक्षित नभइकन सम्बन्धित वर्गहरुको लागि जुन समिति खडा गरेका छौँ उहाँहरुको आँशु पुछियोस् भन्ने मेरो शुभकामना छ ।’

उपसभामुख रानाले प्रतिवेदनले सहकारी पीडितहरुको आँशु पुछिनुपर्ने बताउनु भयो । —न्युज एजेन्सी नेपाल