स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले विपद्मा परी घाइते भएकाहरुलाई सरकारले निःशुल्क उपचार गरिरहेको बताउनुभएको छ ।
बिहीवार राष्ट्रिय ट्रमा सेन्टरमा मनसुनजन्य विपद्बाट घाइते हुनुभएका उपचाररत बिरामीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिन पुग्नुभएका उहाँले सो कुरा बताउनुभएको हो । उहाँले उपचार आवश्यक भएका सबै नागरिकहरुलाई स्वास्थ्य मन्त्रलयले निःशुल्क उपचार उपलब्ध गराइरहेको बताउनु भयो । उहाँले सरकारी अस्पतालहरुमा विपद्बाट घाइते भएका बिरामीहरुको निःशुल्क उपचार जारी रहेको र विपद्बाट घाइते भइ उपचार नपाएका नागरिकहरुले पनि सरकारी अस्पतालमा पुगेर उपचार गराउन सक्ने बताउनु भयो । उहाँले कतिपय नागरिकहरुलाई सरकारले निःशुल्क उपचार गराएको बारेमा जानकारी नहुनसक्ने भन्दै सञ्चारमाध्यमले सूचना संप्रेषणा गरिदिन आग्रह गर्नुभयो । उहाँले विपद्बाट भएका जस्तोसुकै जटिल समस्याको पनि उपचार सरकारले निःशुल्क गर्ने बताउनु भयो । उहाँले घाइतेलाई उपचारबाट वञ्चित हुन नदिने प्रतिवद्धता जनाउनु भयो ।
उहाँले भन्नुभयो, ‘उपचार आवश्यक भएका सबै नागरिकहरुलाई स्वास्थ्य मन्त्रलयले निःशुल्क उपचार उपलब्ध गराएको छ । स्वास्थ्य मन्त्रालयका सबै अस्पतालहरुमा त्यो व्यवस्था गरिएको छ । निजी अस्पतालाहरुलाई पनि विपद्मा परेका, सहायता गर्नुपर्ने सबैलाई उपचारमा सहयोग गर्न अनुरोध गरेका छौँ । उपचार नपाएर समस्यामा पर्ने स्थिति हुँदैन । अहिले पनि कतिलाई जानकारी नभएको हुनसक्छ, म आग्रह गर्न चाहन्छु, विपद्मा परेर घाइते हुनुभएका सबैको उपचार नेपाल सरकारअन्तर्गतका अस्पतालहरुले गर्नेछन् । जस्तोसुकै जटिल समस्यको पनि उपचार हुनेछ । जो बिरामी हुनुहुन्छ, नजिकको स्वास्थ्य संस्थामा आएर उपचार गर्नुहोला । सम्पूर्ण उपचार निःशुल्क हुन्छ । उपचारबाट वञ्चित हुन दिँदैनौँ ।’
मन्त्री पौडेलले विपद् कुनैपनि बेला आउनसक्ने भन्दै जनचेतना अभिवृद्धि गर्न जरुरी रहेको बताउनु भयो । प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गर्ने काम भइरहेको बताउनु भयो । उहाँले तीन तहकै सरकारसँग समन्वय गरी विभिन्न कार्यक्रमहरु अघि बढाइएको जानकारी दिनुभयो । –न्युज एजेन्सी नेपाल