प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टीले आगामी निर्वाचन एक्लै लड्ने संकल्प लिएको बताउनुभएको छ ।
नेकपा (माआवादी केन्द्र) को पहिचानलाई स्थापित गराउन पनि आफूहरुले आसन्न स्थानीय तहको उपनिर्वाचन र २०८४ सालको निर्वाचनमा एक्लै लडने संकल्प लिएको अध्यक्ष दाहालको भनाई थियो । पार्टीको दोलखा–काठमाडौं सम्पर्क समन्वय समितिले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले टानको निर्वाचनमा आफ्नो पार्टी पक्षधरले एक्लै जितेपछि काँग्रेस–एमाले लगायतका प्रतिक्रियावादीहरुको सात्तो गएको जिकिर पनि गर्नुभयो । अध्यक्ष दाहालले आसन्न उपनिर्वाचनमा जितेर माओवादी केन्द्रले एक्लै निर्वाचन जित्नसक्छ भन्ने सन्देश दिनेगरी त्यसको तयारी गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले आगामी निर्वाचन आफ्नो पार्टीले जित्ने दाबी समेत गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘अहिले भर्खरै तपाईहरुले देखाई हाल्ने काम छ । उपनिर्वाचन हुँदैछ । यो पटक हामी समिक्षा गर्दैछौं । कहिले काँग्रेससँग, कहिले एमालेसँग समिकरण गरेर निर्वाचन लडदालडदा कता कता माओवादीको पहिचान हराउन लागेको हो कि आशंका सर्वत्र भएको छ । र, यो पटक हामी आफ्नै खुट्टामा उभिएर अहिले मात्रै होइन, २०८४ सालको निर्वाचनमा पनि माओवादी एक्लै १६५ सिटमा नै ३३० प्रदेशमा र सबै पालिकामा पनि हामी एक्लै चुनाव लडेर फेरी एकचोटी माओवादीलाई आफ्नो पहिचानसहित स्थापित गर्ने हामीले संकल्प लिँदैछौं । त्यसकारण कमरेडहरु तपाईहरुलाई एउटा अवसर आएको छ । हामीलाई प्रतिक्रियावादीहरुले सोचे–संख्या घटेको छ । अव सरकारबाट पनि बाहिर गएपछि माओवादी त धेरै नै कमजोर होला भन्ने सोचेका थिए । अहिले तिनीहरुको भन्नु हुन्छ भने एक खालको सातो गएको छ । माओवादीहरु झन देशैभरी जाग्न पो थाले । यहाँ भएका कयौं सामाजिक संघ, संस्था या व्यवसायिक संघ, संस्थाका निर्वाचनमा काँग्रेस–एमाले एकातिर, माओवादी एक्लै एकातिर हुँदा हामीले चुनाव जित्यौं । तपाईहरुलाई थाहा छ–टानको चुनाव हामी एक्लैले जित्यौं । यो एउटा सानो उद्धाहरण हो । अब तपाईहरुले संकल्प लिएको जानु भयो भने मलाई विश्वास छ–हामीले चुनाव जित्छौं । त्यहाँ जित्दा देशभरको गाउँपालिका र नगरपालिकालाई सन्देश हुनेछ । म यो उपनिर्वाचनलाई अधिकतम मेहनत गरेर हाम्रो पक्षमा पार्नका लागि अपिल गर्न चाहन्छु ।’
अध्यक्ष दाहालले वर्तमान सरकार जनताको सेवाको लागि नबनेको भन्दै त्यसप्रति जनताले आशा गर्ने ठाउँ नरहेको दोहो¥याउनु भयो । —न्युज एजेन्सी नेपाल