विपद् पीडितलाई अझै प्रभावकारी ढंगले राहतको व्यवस्था मिलाउँछौंः प्रधानमन्त्री ओली

.

प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो पीडितलाई राहत दिने कामलाई सरकारले अझै प्रभावकारी ढंगले अघि बढाउने बताउनुभएको छ ।

आईतवार अपरान्ह सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा नेपाली काँग्रेसले राहत स्वरुप दिएको ५० लाख रुपैयाँ ग्रहण गर्दै उहाँले सो प्रतिवद्धता व्यक्त गर्नुभएको हो । विपत्तिको बेलामा सामाजिक संघ, संस्थाहरुले पनि पीडितलागि गरेको सहयोग उत्साहपूर्ण रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले उनीहरुको राहतको काममा सरकार अझै क्रियाशील भएर लागि पर्ने बताउनु भयो । उहाँले विपद्को सामना सबैले मिलेर गर्नुपर्ने उल्लेख गर्दै त्यस काममा केन्द्रित भएर लागेकोमा सबै राजनीतिक दल, व्यक्ति, शक्ति लगायतका सबैप्रति आभार पनि व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘विपत्तिका बेला सबै पक्षहरु, सबै शक्तिहरु, राष्ट्रिय जीवनका सबै पक्षहरु मिलेर एकतावद्ध भएर जानुपर्दछ । यो साझा विपत्तिको सामना सबैले मिलेर गर्नुपर्छ भन्ने मुख्य भावना र अरु त्यसका लागि के कस्ता कदम चाल्नुपर्छ, के कस्ता नीतिहरु लिनुपर्छ भन्ने समेत ३४ वटा बुँदामा विस्तृत रुपमा प्रश्तुत गर्नुभएको छ सुझावहरु । म नेपाली काँग्रेसका सभापतिज्युलगायत सबै साथीहरु र सिंगो पार्टीलाई धन्यवाद भन्न चाहन्छु । विपत्तिले हामी सबै उमेर, समुह, जात कसैका पनि छोडेको छैन । यो विपत्ति सबैका लागि समान रुपमा आएको छ । सबैले मिलेर यसको सामना गरौं । यस काममा नेतृत्व स्वभाविक रुपमा सरकारले लिनुपर्छ । र सरकारले गरिपनि आएको छ । यसमा रेस्क्यु अपरेशनमा खासगरी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, असाधारण योगदान रहेको छ । सबैलाई धन्यवाद दिनुपर्छ, जसले आफ्नो आफ्नो ठाउँबाट व्यक्तिहरुले आफ्नो ज्यान जोखिममा राखेर पनि व्यक्तिगत तवरमा पनि काममा लाग्नु भएको छ साथीहरु । कसैले भनेर होइन, लगाएर होइन, आफनै हिसावले पनि गर्नु भएको  छ । संघ, संस्थाहरु बैंकिङ क्षेत्र, अरु संघ, संस्थाहरुले पनि उत्साहपूर्ण ढंगले सहयोग गरिरहनुभएको छ । यसप्रति म खुशी व्यक्त गर्न चाहन्छु । र राजनीतिक दलहरुले पनि यसमा सहयोगको हात बढाइरहनुभएको छ । धन्यवाद भन्न चाहन्छु । र के विश्वास दिलाउन चाहन्छु भने सरकारले यस कामको लिड लिनेछ । र प्रभावकारी ढंगले यसको समाधानको अगुवाई पनि गर्नेछ । सरकारले एक्लै गर्छ म भन्दिन । अगुवाई गर्छ, सरकारले लिड गर्छ ।’ 

प्रधानमन्त्री ओलीले विपद्मा उद्धार लागि परिचालित भएका सबै व्यक्तहरुको पनि खुलेर प्रशंशा गर्नुभएको थियो । —न्युज एजेन्सी नेपाल