बुधवार बिहानदेखि कान्ति राजमार्ग पूर्ण रुपमा सञ्चालन हुने

.

अवरुद्ध कान्ती राजमार्ग बुधवार बिहानसम्म पूर्ण रुपमा सञ्चालनमा आउने भएको छ ।

मंगलवार ललितपुर निर्वाचन क्षेत्र नम्बर १ का सांसद डा.उदयशमशेर जबरासहितको प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुको टोलीले सो ठाउँको अनुगमन गरेको हो । सो क्रममा कान्ती राजमार्गका इन्जिनियर सीताराम बुढाथोकीले सडक विभाग र नेपाली सेनाको सहयोगमा सडक खुलाउने काम भइरहेको र बुधवार बिहानसम्म पूर्ण रुपमा सडक सञ्चालन गरिसक्ने बताउनु भयो । उहाँले असोज ११ गतेदेखि आएको वर्षा बाढी र पहिरोका कारण कान्ती राजमार्गमा १५.७५ मिटरको सिम्प्ली सपोर्टेट ब्रिच क्षति हुँदा आवतजावतमा समस्या भएको बताउनु भयो । बाढीका कारण पुल, सडक र पुलको निर्माणको लागि राखिएको पाइल ड्राइभिङ मेसिन लगायत अन्य मेसिनहरु र ८० टनको रेन्सफोर्समेण्टहरु पनि बगाएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘यो असोज ११ गतेदेखि आएको वर्षापछिको क्षति हो । यसमा १५.७५ मिटरको सिम्प्ली सपोर्टेट ब्रिच क्षति भयो । सम्भवतः यो कुलेखानीको पानी पनि जोडिएर र अविरल वर्षाका कारण क्षति भएको हो । यसबाट पुल मात्रै क्षति भएन, कन्ट्याक्टरको एउटा नयाँ पुल सँगै डिजाइन एण्ड बिलको ठेक्का थियो, नयाँ पुलको । जुन ८२ मिटर लामो, ११ मिटर चौडाइको । त्यो पुलको निर्माणको लागि राखिएको पाइल ड्राइभिङ मेसिन लगायत अन्य मेसिनहरु र ८० टनको रेन्सफोर्समेण्टहरु पनि कन्ट्याक्टरको सबै बगाएर क्षति भएको छ । हामी हाल अस्थायी डाइभर्सनको रुपमा खोल्ने प्रयासमा छौँ । सडक विभाग र नेपाली सेनाको सहयोगमा लागिरहेका छौँ । आज तीन बजेसम्मको टार्गेट छ । केही समय लाग्छ । टिप्परले मेटिरियल बोकेर ल्याउन समस्या आएको छ । भोलि बिहानसम्म यो बाटो खोलिसक्छाँै ।’

त्यस्तै ललितपुर निर्वाचन क्षेत्र नम्बर १ का सांसद डा.उदयशमशेर जबराले आज आफूहरुले वागमती गाउँपालिका र कोन्जसुम गाउँपालिकाका केही बाटोहरु अवलोकन गरेको बताउनु भयो । उहाँले सो क्रममा कान्ती लोकपथको पनि अवलोकन गरिएको र ललितपुर र मकवानपुर जिल्ला जोड्ने कान्ती लोकपथमा विशेष गरेर बगुवाको पुलमा आधा भन्दा बढी क्षति गरेकाले आवतजावत असहज भएको बताउनु भयो । अहिले पुलमा साना सवारीहरु चलाउनसक्ने बनाइएको जानकारी दिनुभयो । टिकाभैरव, देवीचौर घुसेल क्षेत्रमा पनि यातायात सुचारु गर्न लागिएको बताउनु भयो । दलचोकीसम्म सडक पुगेको र अब शंखुसम्म पुयाउनुपर्ने काम बाँकी रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘वागमती गाउँपालिका र कोन्जसुम गाउँपालिकाका केही बाटोहरु अवलोकन गर्न पनि गयौँ । एउटा त कान्ती लोकपथ । कान्ती लोकपथमा विशेष गरेर बगुवाको पुल जुन ललितपुर र मकवानपुर जिल्ला जोड्ने जिल्लाको पुलको केही भाग बगाएको छ । हाम्रो सडक विभाग तथा कान्ती लोकपथ आयोजना अन्तर्गतका साथीहरु र त्यहाँका स्थानीय जनप्रतिनिधिहरुको पहलमा अहिले त्यो पुल टेम्पररी चल्ने गरेर एक किसिमले बाइपास गरेर भोलिदेखि सानो गाडी चल्ने परिस्थिति सिर्जना भएको छ । टिकाभैरव, देवीचौर घुसेल पनि हिजोसम्म बन्द थियो । हिजो पनि त्यहाँ आएर समस्या समाधान गरेपछि आज खुलेको छ । बिर्खे डाँडा दल्चोकी, शंखु सडकमा बढी ड्यामेज देखिएको छ । दलचोकीसम्म सडक पुगेको छ । अब शंखुसम्म पु¥याउनुपर्नेछ । विशेष गरेर ललितपुरको एक नम्बर क्षेत्रमा गोदावरी, महांकल, कुञ्जेसुम र वागमती यो एउटा नगरपालिका र तीन गाउँपालिकामा अहिले क्षति बढी भएको छ । ३५ जना भन्दा बढीको ज्यान गएको छ । पूर्वाधार धेरै नै बिग्रिएको छ । पुनःनिर्माणको क्रममा ललतिपुर एक नम्बर क्षेत्रमा महांकाल र गोदावरीमा विशेष समस्या छ । अहिले सबै बाटो खुलाउने र पुलहरु निर्माण गर्ने तयारीमा छौँ । पूर्ण क्षति भएका घरहरु ६ सयदेखि ८ सय घरमा क्षति भएको छ । त्यसलाई व्यवस्थापन कसरी गर्ने भन्नेमा छौँ । सरकारले ५० हजार दिएर अस्थायी व्यवस्थापन गरेको छ । तर स्थायी व्यवस्थापनमा हामीले ध्यान दिनुपर्छ ।’

ललतिपुर निर्वाचन क्षेत्र नम्बर १ मा पूर्ण क्षति भएका घरहरु ६ सयदेखि ८ सय रहेको अनुमान गरेको बताउनु भयो । सरकारले ५० हजार दिएर अस्थायी व्यवस्थापन गरेको भएपनि स्थायी व्यवस्थापनका लागि ध्यान दिनुपर्ने बताउनु भयो । —न्युज एजेन्सी नेपाल