सत्तारुढ दल नेकपा एमालेले प्राकृतिक विपद्बाट घरवास गुमाएका १० हजार परिवारलाई छिटो भन्दा छिटो पुनःवासको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ ।
बिहीवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकले विपद्बाट प्रभावित परिवारलाई छिटो भन्दा छिटो पुनःवासको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले सरकारले आफ्नो क्षमताले भ्याएसम्म विपद् प्रभावितहरुको उद्धार गरेको बताउनु भयो । उहाँले प्राकृतिक प्रकोप र सरकारको क्षमताको ग्यापले केही असहज परिस्थिति सिर्जना भएको बताउनु भयो । उहाँले सरकारले विभिन्न माध्यमबाट सुरक्षित स्थानमा रहन आग्रह गरेको र आम नागरिकहरुमा सजगताको कमी देखिएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘सरकारले आफ्नो सामथ्र्यले भ्याएसम्म गरेको छ । प्राकृतिक प्रकोप र सरकारको भोलुमको बीचमा ग्याप त हुँदो नै रहेछ । हालैमात्र अमेरिकाको फ्लोरिडामा आँधीबाट आक्रान्त छ । सुविधा सम्पन्न देशमा पनि केही कमजोरी छन् । तर हामीले सरकारले इमान्दारीपूर्वक काम गरेको छ की छैन भनेर हेर्दा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, कर्मचारीहरु सबै खट्नुभएको छ । तर मौसव विज्ञहरुले मुसलधारे वर्षा हुने अनुमान गर्नुभएको थियो । त्यसलाई मध्यनजर गरेर सरकारले सूचना पनि शतर्क रहन दिएको हो । कति कुरामा नागरिकहरुको सजगतामा कमी पनि भयो । सरकार अझ बढी प्रभावकारी बनोस् । १० हजार परिवारले घरवास गुमाउनुभएको छ । उहाँहरुलाई छिटो भन्दा छिटो पुनःवासको जरुरी छ । त्यसपछि पुनःनिर्माणको काम आउँछ ।’
उहाँले सरकारले अझ बढी सक्रिय भइ विपद् प्रभावितहरुको पुनःवास र पुनर्निर्माणका लागि प्रभाकारी ढंगले काम गर्नुपर्ने बताउनु भयो । —न्युज एजेन्सी नेपाल