रविन तामाङको स्वरमा ‘चिसो एस्ट्रे’

.

काठमाडौं-आफ्नो भिन्न शैलीको गायनमार्फत लोकप्रिय बनेका रविन तामाङ अभिनय पनि गर्ने गर्छन् । रक गीत गाएका तामाङ हिजोआज संगीतभन्दा बढी अभिनयमै सक्रिय छन् । 

 

केही समय पहिले उनले अमेजन प्राइममा प्रसारण भएको हिन्दी सिरिज ‘दि लास्ट आवर’ मा मुख्य खलपात्रको भूमिका निर्वाह गरेका थिए । जसको भारतमा निकै चर्चा भएको थियो ।

 

नेपालमा भने रविन तामाङ लामो समयपछि पर्दामा देखिँदैछन् ‘चिसो एस्ट्रे’ मार्फत् । तर, यो फिल्ममा तामाङले अभिनय मात्र होइन, गीत पनि गाएका छन् ।

 

उनकै शब्द तथा संगीत रहेको फिल्मको शीर्ष गीत शुक्रबार नेपाल फिल्म क्याम्पसका विद्यार्थीबीच सार्वजनिक गरिएको थियो । अंग्रेजीमा गाइएको ‘चिसो एस्ट्रे’ बोलको गीतले युवाहरुको जीवनशैलीलाई अभिव्यक्त गरेको छ ।

 

गीत सार्वजनिक कार्यक्रममा उपस्थित तामाङले फिल्मले देखाउन खोजेको सन्देशलाई गीतले सार संक्षेपमा व्यक्त गर्ने प्रयास गरेको बताए ।

 

‘दिनेशले बनाएको फिल्मलाई मैले गीतमा समअप गरेको हो । धेरैपछि आफ्नो गीत सार्वजनिक हुँदा एक्साइटेड फिल गरिरहेको छु,’ उनले भने । फिल्मको टिम र फिल्म कलेजका विद्यार्थीबीच अन्तक्र्रिया पनि भएको थियो । फिल्म निर्माण टिमले आफूहरूले सहरसँग लय मिलाउन नसक्ने युवाको कथालाई पर्दामा उतार्ने जमर्को गरेको बताएका थिए । फिल्म होलीको भोलिपल्ट अर्थात् ४ चैतमा रिलिज हुँदैछ ।