काठमाडौं । नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठले बदलिँदो समयअनुसार श्रम बजार नयाँ भएसँगै श्रम बजारमा हुने शोषणका रुप पनि नयाँ नयाँ हुँदै गएको बताएका छन् ।
महासंघको पर्यटन क्षेत्रको एक घटक नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेष्टुरेण्ट मजदुर यूनियन (नेस्वहोमयू)को ४५ औं स्थापना दिवसका अवसरमा सर्वोत्कृष्ट ट्रेड यूनियन पुरस्कार र माधव न्यौपाने स्मृति छात्रवृत्ति पुरस्कार प्रदान गर्दै अध्यक्ष श्रेष्ठले आउटसोर्स लगायतका नाममा बजारमा नयाँ रुप र समस्या उदय भएको बताए ।
अब बजारका समस्या समाधान गर्न नयाँ ढंगबाट आन्दोलन थाल्नुपर्ने उनले बताए । ‘अब नयाँ ढंगबाट आन्दोलन उठाउनु पर्छ । १० प्रतिशत सेवा शुल्क होस् या आउटसोर्सका साथीहरुले होटल–होटलबाट आन्दोलन थाल्नुपर्छ ।’ श्रमिकका समस्यालाई महासंघले टुलुटुलु हेरेर चुप लागेर नबस्ने चेतावनी दिँदै उनले श्रमिकका आन्दोलन र प्राप्त उपलब्धीको रक्षाका लागि एकताबद्ध आन्दोलन निरन्तर चलाइरहनुपर्ने बताए ।
जिफन्टले पुस १ गतेदेखि फागुन मसान्तसम्म ३ महिना प्रतिष्ठानका तल्लो तहसम्म पुगेर श्रमिकहरुका समस्या केलाउने उनले बताए । उनले तीन महिने अभियानबाट सत्य तथ्य पत्ता लगाई यूनियन आन्दोलनलाई बलियो राखिराख्न कदम चाल्ने संकल्प लिइएको बताए । हायात होटलमा आन्दोलन गर्ने डिल्ली बजगाईँ लगायतको टिमप्रति सम्मान व्यक्त गर्दै सबै होटल क्षेत्रलाई मजबुत बनाउन योजनाबद्ध रुपमा लाग्न अध्यक्ष श्रेष्ठले आग्रह गरे । यस्तै श्रमिकले राजनीतिमा हस्तक्षेप गर्ने दिन आएको पनि उनको भनाइ थियो ।
कार्यक्रममा नेस्वहोमयूका अध्यक्ष लक्ष्मण तिवारीले महासंघको संस्थापकमध्येको एक यूनियन नेस्वहोमयूको स्थापना दिवसका अवसरमा पर्यटन क्षेत्रमा क्रियाशिल श्रमिकहरुलाई शुभकामना दिँदै श्रमिक पक्षीय मुद्दाहरुलाई बुलन्द पारिरहने धारणा राखे । श्रमको संसार फेरिएको अवस्थामा समयसापेक्ष चल्नुपर्ने आवश्यकता आएको पनि उनको भनाइ थियो । तिवारीले १० प्रतिशत सेवाशुल्क सुरुवात नेस्वहोमयुले गरेको स्मरण गर्दै गुमेको शेवाशुल्क प्राप्तिका लागि एकताबद्ध र योजनाबद्धरुपमा लाग्नुको विकल्प नभएको धारणा राखे ।
कार्यक्रममा सर्वोत्कृष्ट ट्रेड यूनियन अवार्ड नेस्वहोमयू होटल पोखरा ग्राण्ड कास्कीलाई प्रदान गरिएको थियो । त्यस्तै स्व. माधव न्यौपाने स्मृति छात्रवृत्ति पुरस्कार–२०८१ बाट नेस्वहोमयू गोकर्ण फरेष्ट रिसोर्ट इकाईका सुरेश घिमिरेका सुपुत्र सुदिप घिमिरे र नेस्वहोमयू दि बेकरी क्याफे इकाईका विकेश देउलाकी सुपुत्री अंशु देउलालाई प्रदान गरिएको थियो ।