नेपालमा दोस्रोपल्ट अन्तर्राष्ट्रिय च्यालेन्ज ब्याडमिन्टन हुँदै

.

विश्वका पाँच महादेशका राष्ट्रले चुनौति रहने अन्तर्राष्ट्रिय च्यालेन्ज ब्याडमिण्टन आगामी सोमवारदेखि हुने भएको छ ।
नेपाल ब्याडमिण्टन संघको आयोजनमा दोस्रोपल्ट नेपालमा अन्तर्राष्ट्रिय च्यालेन्ज ब्याडमिण्टन हुन लागेको हो । पुस ११ गतेसम्म सञ्चालन हुने उक्त नेपाल च्यालेन्जमा विश्वका पाँच महादेशका २२ राष्ट्र खेलाडीले प्रतिष्पर्धा गर्दैछन् । नेपाल ब्याडमिण्टन संघले बिहीवार पत्रकार सम्मेलनमार्पmत नेपालमा हुन लागेको दोस्रो अन्तर्राष्ट्रिय ब्याडमिण्टनबारे जानकारी दिएको हो । आयोजकले कुल पुरस्कार राशि १५ हजार अमेरिकी डलर रहेको पनि उल्लेख गरेको छ ।
विश्व ब्याडमिण्टन महासंघ र ब्याडमिन्टन एशियाको स्वीकृतिमा नेपाल च्यालेन्ज हुन लागेको हो । आयोजक नेपालसहित भारत, अमेरिका, थाइल्याण्ड, सिंगापुर, श्रीलंका, बंगलादेश, भियतनाम, क्यानडा, मलेसिया, इण्डोनेसिया, इरान, इटाली, संयुक्त अरब इमिरेट्स (युएई), जाम्बिया, युगान्डा, इङ्ल्यान्ड, न्युजिल्याण्ड, म्यानमार, अस्ट्रेलिया, युक्रेन र जापानका कुल १७४ खेलाडीले कुल पाँच विधामा प्रतिष्पर्धा गर्दैछन् । च्यालेन्जमा पुरुष÷महिला एकल, महिला र पुरुषको डबल्समा तथा मिक्स गरी पाँच विधामा प्रतिष्पर्धा हुँदैछन् ।
सबै विधाका विजेता, उपविजेता, सेमिफाइनलिस्ट र क्वार्टरफाइनलिस्टका खेलाडीले क्रमशः १२ सय डलर, सात सय २० डलर, ६ सय डलर र चार सय ८० डलर प्राप्त गर्नेछन् । च्यालेन्जलगत्तै पुष १२ गतेदेखि १४ गतेसम्म नेपाल जुनियर अन्तर्राष्ट्रिय सिरिज २०२४ आयोजना हुने आयोजकले जनाएको छ । च्यालेन्ज र सिरिज त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने भएको छ ।
जुनियरमा पनि आयोजक नेपालसहित न्युजिल्याण्ड, मलेसिया, थाइल्याण्ड, इरान, भारत, संयुक्त अरब इमिरेट्स (युएई) का कुल १०७ खेलाडीले प्रतिष्पर्धा गर्नेछन् । उक्त जुनियर सिरिजमा पनि पुरुष÷महिला एकल तथा युगल र मिक्स गरी ५ विधामा नै प्रतिस्पर्धा हुने तय छ । नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले पत्रकार सम्मेलनमा नेपालबाट सिनियरमा ९ पुरुष र सात महिला तथा जुनियरमा समान आठ पुरुष र महिला खेलाडीले प्रतिस्पर्धा गर्ने जानकारी दिए । च्यालेन्ज र सिरिजको लागत करिव १ करोड १६ लाख रहेको छ ।
संघका अध्यक्ष रामजीबहादुरले कोभिडपछि अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना रोकिए पनि फेरि सुरुआत गरिएको बताए । साथै उनले केही अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपाली खेलाडीले राम्रो प्रदर्शन पनि गरेको उल्लेख गरे ।
बाइट.. रामजीबहादुर श्रेष्ठ, नेपाल ब्याडमिन्टन संघ
योनेक्स सनराइज कम्पनी सिंगापुरले मुख्य प्रायोजकका रूपमा साथ दिएको छ । योनेक्सले १५ हजार अमेरिकी डलरका साथ सहभागी हुने नेपाली खेलाडीलाई खेलपोशाक र चार सेट ब्याडमिन्टन उपलब्ध गराउनेछ । अपुग रकम भने राष्ट्रिय खेलकुद परिषद्, वागमती प्रदेश खेलकुद बिकास परिषद् तथा विभिन्न बैंक तथा कम्पनीहरू र सहयोगी संघ संस्थाबाट पूर्ति गरिने संघका अध्यक्ष रामजीबहादुरले बताए । —न्युज एजेन्सी नेपाल