काठमाडौं – नेपाली बजारमा सुनको मूल्य आकाशिएकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला एक लाख तीन हजार रुपैयाँ कायम भएको छापावाल सुनको भाउ बुधबार २ हजार ५ सयले बढेर एक लाख ५ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
यसैगरी, तेजावी सुनको भाउ तोलाको एक लाख ५ हजार रुपैयाँ निर्धारण गरिएको छ । महासंघका अनुसार आज सुनको भाउ इतिहासकै सबैभन्दा उच्च मूल्यमा पुगेको हो ।
चाँदीको मूल्य भने तोलामा ४० रुपैयाँको दरले बढेको छ । मंगलबार एक हजार ४१० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार एक हजार ४५० रुपैयाँमा निर्धारण भएको छ । बजारमा केहीदिन यता ह्वात्तै सुनचाँदीकाे भाउ बढेकाे छ ।
अहिले रूस र युक्रेनबीच चलिरहेको द्वन्द्वका कारण विश्वकै बजार प्रभावित भएको छ। डलर, पेट्रोलियम पदार्थदेखि सुनसम्मको भाउ बढेको बढ्यै छ । फागुन १२ गते अर्थात् फेब्रुअरी २४ देखि रूसले युक्रेन माथि सैन्य हमला गरेको थियो। उक्त दिन नेपाली बजारमा सुन प्रतितोला ९९ हजार रूपैयाँमा कारोबार भइरहेको थियो। उक्त दिनदेखि आजसम्म सुन प्रतितोलामा ६ हजार ५ सयले बढेकाे छ ।