काठमाडौं – वसन्तपुरस्थित हनुमानढोकामा तीन खण्डे चीर ठड्याइएसँगै यस वर्षको फागु पर्व अर्थात होली उपत्यकालगायत मुलुकभर औपचारिक रुपमा सुरु भएको छ ।
आज बिहान ७ बजेको शुभसाइतमा मानन्धर समुदायले बाजागाजासहित रंगीचंगी ध्वजा र पताकाले सिँगारिएर तीन छत्रे होलीको चिर दरबारको गद्दी बैठकको दक्षिणतर्फ ठड्याएका हुन् । होलिकाको दहन र भगवान कृष्णले गोपिनीहरु नुहाउन गएका बेला कपडा चोरेर रुखमा झुन्ड्याइदिएको पौराणिक कथाको स्मरणमा चीर ठड्याउने परम्परा रहिआएको छ ।
फागुन शुक्ल अष्टमीदेखि फागुन शुक्ल पूर्णिमासम्म होली पर्व मनाउने गरिन्छ । वसन्त ऋतुको आगमनसँगै मनाइने भएकाले यस पर्वलाई वसन्तोत्सव वा मदनोत्सवका रूपमा लिइन्छ । आपसमा मैत्री एवं सद्भावपूर्वक खेलिने यो पर्वमा ख्याली, टप्पा र वसन्त राग गाउँदै, नाच्दै अबिर लगाएर शुभकामना आदानप्रदान गरिन्छ । पूर्णिमाको रातमा चीर ढालेर टुँडिखेलमा पुर्याई दाह गरेपछि होली पर्व समाप्त हुन्छ । यसको भोलिपल्टबाटै वसन्त ऋतु आरम्भ हुन्छ ।
यसवर्ष काठमाडौं लगायत पहाडी जिल्लाहरूमा चैत ३ गते र तराई मधेसका जिल्लाहरूमा फागुन ४ गते होली पर्व परेको छ।होलीमा सरकारले सार्वजनिक बिदा दिने गर्दछ।