ताप्लेजुङ – ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा भएको आगलागीमा परेर एक वृद्धाको मृत्यु भएको छ।
प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेलका अनुसार फुङलिङ नगरपालिका–४ कोप्चेमा रहेको मासु पसल नजिकैको एक घरमा अचानक आगलागी हुँदा गम्भिर घाइते भएकी वृद्धाको उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा ६७ वर्षिया चुलीमाया लिम्बू रहेकी छन् ।
आगलागीबाट एक घर जलेको छ भने आगो नियन्त्रणमा आइसकेको छैन । आगलागी नियन्त्रणका लागि स्थानीय र सुरक्षाकर्मी खटिएका छन् । आगलागी नियन्त्रणका लागि फुङलिङ नगरपालिकाको दमकल पुगेको छ । जस्ताले छाएको घरमा आगलागी भएका कारण आसपासका घरसमेत जोखिममा परेका छन् ।
आगलागी के कारणले लागेको हो खुल्न सकेको छैन । आगो अन्यत्र सल्किए कोप्चेबजार पूरै जोखिममा पर्ने देखिन्छ । प्रायः वर्षेनी आगलागीको चपेटामा पर्दै आएको सदरमुकाममा यस वर्ष सुक्खायाम लागेसँगै बजार क्षेत्रमा यो नै पहिलोपटक आगलागीको घटना भएको हो ।