नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पाथीभरा केबलकार बनाउने कुरामा स्थानीयहरुको साथ रहेको बताउनुभएको छ ।
शनिवार पाथीभरा देवी दर्शन केबलकार प्रा.लि.को तर्फबाट काठमाडौंमा पत्रकार सम्मलेन गर्दै उहाँले यस्तो बताउनुभएको हो । तीन सय जनासँग गरेको सार्वजनिक सुनुवाईमा स्थानीयको प्रतिनिधित्व गर्दै बोल्ने २५ जनामध्ये दुई जनाले मात्रै असहमति जनाएको बताउनु भयो । उहाँले ताप्लेजुङवासीको अधिकांशको मत केबलकार बनाउनुपर्छ भन्नेमै रहेको बताउनु भयो । ताप्लेजुङ भन्दा बाहिरका र विदेशमा बस्नेहरुले त्यहाँको विकासको उपयोग गर्ने तर नेपालमा हुन लागेको विकासको बिरोध गरिरहेको बताउनु भयो । ताप्लेजुङमा केबलकार बनेसँगै आर्थिक गतिविधि चलायमान हुने, रोजगारी सिर्जना हुनेकुरा महत्वपूर्ण रहेको बताउनु भयो । ताप्लेजुङवासीलाई त्यहीँ रोजगारी दिने उद्देश्यका साथ केबलकार बनाउन लागिएको बताउनु भयो । उहाँले केबलकार बनेसँगै ताप्लेजुङको विकास र समृद्धिमा नै सहयोग पुग्ने बताउनु भयो । उहाँले पाथीभरा देवी केबलकार निर्माण भएसँगै तीन सय रोजगारी थपिने र जसमा ८० प्रतिशत ताप्लेजुङवासीले नै रोजगारीको अवसर पाउने उल्लेख गर्नुभयो । ताप्लेजुङवासीले पाउने अवसरमा खेलवाड गर्न बाहिर बस्ने नेपालीहरु लागिरहेको बताउनु भयो ।
अध्यक्ष ढकालले भन्नुभयो, ‘बिरोधको कुरा गर्नुभयो । म आफैँ पनि स्थानीयहरुसँग छलफल गर्न गएँ । सार्वजनिक सुनुवाईमा करिव ३ सय जना स्थानीय हुनुहुन्थ्यो । त्यसमा २५ जना स्थानीयले बोल्नुभएको थियो । जसमा २ जनाले बन्न हुँदैन भन्नुभयो । एक जनाले बन्नुपर्छ तर भन्नुभएको थियो । ताप्लेजुङवासीको अधिकांशको मत केबलकार बनाउनु पर्छ । यहाँको इकोनोमिक एक्टिभिटी बढ्छ, रोजगारी सिर्जना हुन्छ, त्यसले ताप्लेजुङमा केबलकार बन्नुपर्छ भन्ने छ । ताप्लेजुङ भन्दा बाहिरका साथीहरु, नेपाल भन्दा बाहिर बस्ने साथीहरुले उहाँले विकसित मुलुकको इन्जोय गरिरहनुभएको छ, त्यहाँको सुविधान लिनुभएको छ । तर ताप्लेजुङमा बन्नु हुँदैन भनेर ताप्लेजुङवासीलाई गलत हिसावले भ्रम फैल्याउनुभएको छ । यसै इस्युमा कताकता पोल्टिकल पार्टीहरुले भुमिका खेल्नुभएको छ । ताप्लेजुङवासीलाई त्यहीँ रोजगारी दिने उद्देश्यका साथ बनाउन खोजेको हो । त्यो लगानीलाई ताप्लेजुङ बाहिरका व्यक्तिबाट इस्यु निकालिएको छ । त्यो ताप्लेजुङको लागि दुःख लाग्दो कुरा हो ।’
अध्यक्ष ढकालले पाथीभरमा केबलकारसम्बन्धी संरचना गलत हिसावले नबनाइएको पनि स्पष्ट पार्नुभयो । उहाँले पाथीभरा देवी दर्शन केबलकार प्रा.लि.ले बनाउने सबै संरचना प्रकृतिमैत्री हुने दाबी गर्नुभयो । उहाँले पाँचतारे होटल नभएर सामान्य स्तरको पूर्वाधार मात्रै बनाउन लागेको उल्लेख गर्दै अक्सिजनलगायतको स्वास्थ्यकेन्द्र, शौचालय र तातो र चिसो पानीको व्यवस्थाका लागि सामान्य संरचना बनाइने उल्लेख गर्नुभयो । मन्दिरको भेटी केबलकारले उठाउँछ भन्ने गलत कुराको प्रचार गरिएको र भेटीसँग केबलकारको कुनै सरोकार नरहेको जिकिर गर्नुभयो । केबलकारले कुनैपनि हिसावमा धार्मिक आस्था खल्बल्याउने काम नगर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘वास्तवमा जुन हिसावले पाथीभरा केबलकारले संरचनाहरु फरक हिसावले बनायो, धार्मिक आस्थामा नबनाउनुपर्ने चिजहरु बनायो भन्ने जुन भ्रम फैल्याइएको छ । हामीले बनाउने संरचना र पूर्वाधार वातावरण र प्रकृतिमैत्री हुन्छ । सामान्य स्तरको पूर्वाधार हुन्छ । टप स्टेशन हुन्छ । उचाईमा भएको हिसावले सामान्य किसिमले अक्सिजन लगायतको स्वास्थ्यकेन्द्र, शौचालय, तातोपानी, चिसोपानीको व्यवस्था हुन्छ । लेक लाग्ने हिसावमा त्यसको लागि मात्रै यो संरचना बनाइनेछ । माथि फाइभ स्टार होटल हुन्छ रे, कता डेटिङ बस्ने ठाउँ हुन्छ रे भन्ने हिसावको गलत कुरा आएको छ । गलत प्रचार गरिएको छ । त्यहाँको भेटी सबै पाथीभरा केबलकारले उठाउँछ भन्ने जस्ता गलत कुरा गरिएको छ । मन्दिरको भेटी केबलकारसँग कुनै सरोकार छैन । केबलकारले कुनैपनि हिसावमा धार्मिक आस्था खल्बल्याउने काम गर्दैन ।’
अध्यक्ष ढकालले सांस्कृतिक सम्पदाको संरक्षण र जगेर्ना गर्दै पर्यटन प्रवद्र्धनका लागि केबलकार बनाउन लागेको बताउनु भयो । नेपालमा आउने पर्यटकहरुलाई भएका सम्पदाहरु अवलोकन गराउने वातावरण बनाउन खोजेको बताउनु भयो । केबलकारले पाथीभरको धार्मिक आस्थामाथि प्रहार नगर्ने स्पष्ट पार्नुभयो । पाथीभराप्रतिको आस्थालाई थस साथ दिन र सबै नेपालीलाई सहज हिसावमा लैजाने व्यवस्थाका लागि मात्रै केबलकार बनाउन लागिएको बताउनु भयो । पाथीभरा केबलकारको लागत अनुमान करिव तीन अर्बको रहेको जानकारी दिनुभयो । उहाँले एक वर्षभित्रमा पाथीभरा केबलकार निर्माण गरी मन्दिरको दर्शन गराइने बताउनु भयो । —न्युज एजेन्सी नेपाल