सरकारी क्षेत्रले नियोजित रुपमा डिप्लोमा इन्जिनियरहरुलाई बदनाम गराई रहेका छन : कामेश्वर प्रसाद सिंह (भिडियो सहित)

.

देशमा गरिने विकास निर्माणका कार्यहरुमा इन्जिनियरहरुको भुमिका महत्वपुर्ण रहेको हुन्छ । भौतिक पूर्वाधारको क्षेत्रलाई विकासको मेरुदण्ड मान्दै गर्दा डिप्लोमा इन्जिनियरहरुले भोग्नु परेको पिडा र समग्र डिप्लोमा इन्जिनियरिङ क्षेत्रको परिधीमा रहेर डिप्लोमा इन्जिनियरिङ एसोसिएसनका अध्यक्ष कामेश्वर प्रसाद सिंहसँग रुपान्तरण पोष्टले गरेको कुराकानीः

 

आम मानिसले डिप्लोमा इन्जिनियरिङ एसोसिएसन (डिन) लाई कसरी बुझ्ने ?

 

डिप्ललोमा इन्जिनियरिङ देशभरी छरिएर रहेको डिप्लोमा लेवलका साथै प्रि–एसएलसी पछि पन्ध्र महिने तालिम सकेर दुई वर्षे कार्य अनुभव भएका प्राविधिकहरुलाई समेट्ने संस्था हो । यसले डिप्लोमा लेवलका इन्जिनियरहरुको क्षमता विकासका लागी काम गर्दै आएको छ ।
देशभरबाट कति सदस्य हुनुहुन्छ ? यसको अहिलेसम्मको उपलब्धी कस्तो रह्यो ?
डिप्लोमा इन्जिनियरिङका क्षेत्रमा हामीले ठुलो उपलब्धी हासिल गरेको छौ । हाम्रो संस्थाले देशमा मात्र होइन विदेशमा पनि सम्बन्ध बिस्तार गरिसकेको अवस्था छ । हाम्रो संस्थाको सुरुवात वि.स २०३७ मा वौद्धको एउटा सानो कोठाको गुन्द्रीबाट गरेका थियौ । त्यस्तो अवस्थाबाट अहिलेसम्मको अवस्थामा आइपुग्नु डिनको ठुलो सफलता हो । डीनले देशमा मात्र नभई विदेशमा समेत महत्वपूर्ण कार्यक्रमहरु गर्दै आएको छ ।

 

डिप्लोमा इन्जिनियरहरु कति एसोसिएसनमा आवद्ध हुनुहुन्छ ?

 

हाम्रो तथ्यांक अनुसार हालसम्म हाम्रो सदस्य संख्या तीस हजारको हाराहारीमा रहेको छ । देशमा बढिरहेको डिप्लोमा इन्जिनियरहरुको तथ्यांक अनुसार हाम्रो सदस्य संख्या लाखौे हुनुपर्ने हो । विडम्बनाका के छ भने डिप्लोमा इन्जिनियरहरुको क्षमता अभिवृद्धिका लागी कामगर्ने संस्थामा सरकारी नीतिका कारण डिप्लोमा इन्जिनियरहरु आवद्ध हुन सकिरहेका छैनन् ।

 

तपाईहरुले काउन्सिलको माग गरिरहनु भएको थियो ? डिप्लोमा इन्जिनियरिङ एसोसिएसन (डीन) लाई काउन्सिलको किन आवश्यकता पर्यो ?

 

काउन्सिलको लागी २०७६ सालदेखी नै हामीहरु लागी रहेका छौ । यो भन्दा अगाडीको सरकारले बजेटमा राखेर आफ्नो धारणा सार्वजानिक गरिसकेको छ । डिनलाई काउन्सिल दर्ताका लागी पर्याप्त अध्ययन अनुसन्धान भएको थियो । नेपालमा भएका प्राविधिक क्षेत्रहरु इन्जिनियरिङ एसोसिएसन, सीटीईभीटीलाई समेत समेट्ने गरी फाइल तयार पारिएको थियो । तर दुखको साथ भन्नु पर्छ जसले फाइल तयार पारेको हो उहाँहरुले फाइल नै गायव पारिदिनु भयो । फाइल के नियतले गायव पारियो त्यो अझै अन्यौल छ ।

 

मेडिकल इन्जिनियरिङ लगायत सबै क्षेत्रको काउन्सिल छ तर डिप्लोमा इन्जिनियरहरुको भने अहिलेसम्म काउन्सिल छैन । अन्य प्राविधिक क्षेत्रमा काउन्सिलको सदस्यता नलिई केही काम गर्न पाइदैन तर डिप्लोमा भने पास गरेको भोलीपल्टबाट काम गर्न पाइन्छ । यसले डिप्लोमा इन्जिनियरहरुको क्षमतामा ह«ास ल्याइरहेको छ । अहिलेको अवस्थामा डिप्लोमा इन्जिनियरिङ क्षेत्रमा काउन्सिल अपरिहार्य छ ।

 

डिप्लोमा इन्जिनियरिङ लगायत प्राविधिक क्षेत्रको भुमिका देश विकासमा महत्वपूर्ण मानिन्छ । तर प्राविधिकहरुले बदमासी गरे भन्ने चौतर्फी गुनासो पनि सुनिन्छ । यस्तो सुन्दा यहाँहरुलाई कस्तो लाग्छ ? यसतर्फ डीनको ध्यान गएको छ कि छैन ?

 

तपाईले महत्वपूर्ण कुरा उठाउनु भयो । यसरी प्रविधिकहरुको बदनामी हुनु भनेको राज्यका लागी पनि दुर्दशा हो । सरकारले जुन गुणस्तरमा काम गर्नुपर्ने हो त्यस्तो खालका विकास निर्माणका काम गर्न सकिरहेको छैन । यस्तो हुनुमा सरकारले डिप्लोमा इन्जिनियरहरुको महत्व बुझेन । सीटीइभीटीले वर्षमा हजारौ जनशक्ती उत्पादन गर्छ तर ती जनशक्तीहरु हामीसँग जोडिन सक्नु भएको छैन ।

 

हामीले त भनेका छौ तपाईहरु कलेजबाट पास भएपछि ट्रेनिङ गरेपछि मात्रै फिल्डमा आउँनु होला भनेर । हामीले सीटीईभीटीलाई पनि प्रस्ताव गरेका छौ । जबसम्म डिप्लोमा इन्जिनियरहरुको महत्वलाई नजर अन्दाज गरिन्छ तबसम्म देशमा प्रभावकारी रुपमा विकास निर्माणका कार्यहरु अगाडी बढ्न सक्दैन । स्थानीय सरकारहरुमा प्राविधिक जनशक्तीको अभाव भयो भनेर समाचारहरु आइरहन्छ । बिडम्बना के छ भने जनप्रतिनिधिहरुले काम गर्नु अगाडि गर्नुपर्ने इष्टिमेट काम भैसकेपछि मुल्याकंन गर्देउ भनेर डिप्लोमा इन्जिनियरहरुलाई काम लगाइरहेको अवस्था छ । सरकारी क्षेत्रले नियोजित रुपमा डिप्लोमा इन्जिनियरहरुलाई बदनाम गराई रहेका छन् ।