विपत् व्यवस्थापनमा सबैको समन्वय आवश्यक छ : प्रम देउवा

.

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले विपत् व्यवस्थापन गर्न तीनवटै तहका सरकारको आपसी सहकार्य आवश्यक रहेको बताएका छन् । २४औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले विपत् व्यवस्थापनमा सबैको समन्वय आवश्यक हुने बताएका हुन् ।

‘०७२ सालको भूकम्प पश्चात विपत् व्यवस्थापन लगायतका विषयमा महत्वपूर्ण अनुभव हासिल गरिसकेका छौं । भूकम्प प्रतिरोधी भवन निर्माणका लागि दक्ष जनशक्ति निर्माण भएको छ,’ उनले भने, ‘विगतका कमी कमजोरीबाट पाठ सिकेर अघि बढ्नु बुद्धिमानी हुन जान्छ । राहत र उद्दारका कार्यक्रममा प्रभावकारी रुपमा लाग्नुपर्छ ।’

प्रधानमन्त्री देउवाले जनशक्ति सेवालाई तत्काल उपयोग र आवश्यक परेको बेला प्रयोग गर्नका लागि तयारी अवस्थामा राख्ने गरी व्यवस्थापन गर्न सम्बन्धित निकायलाई आग्रह पनि गरे । ‘विपत् व्यवस्थापनमा तीनवटै तहको सरकारले आपसी सहकार्य र समन्वय गर्नुपर्ने हुन्छ । भूकम्प आफैंमा समस्या होइन । अव्यवस्थित शहरीकरण, भूकम्प प्रतिरोधी भवन निर्माण नहुनु पनि हो,’ उनले भने,‘भवन संहिता पालना गरेर गुणस्तरीय भवन निर्माण गर्न सके प्रभावकारी हुन सक्छ। यसमा तीनवटै तहका सरकारको पनि ध्यान जानुपर्छ ।’