काभ्रेपलाञ्चोक – छिमेकी जिल्ला भक्तपुरको सूर्यविनायक नगरपालिका–१० स्थित एक पोल्ट्री फार्ममा शनिबार बर्डफ्लु भेटिएपछि काभ्रेपलाञ्चोकको सीमानाका साँगामा उच्च सतर्कता अपनाइएको छ । उपत्यकाको पूर्वी नाकाका रूपमा रहेको साँगामा २४सै घण्टा पशुपक्षीलगायत अन्यवस्तु आयात–निर्यातमा सतर्कता अपनाउँदै परीक्षण थालिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भने, ‘छिमेकी जिल्ला भक्तपुरमा बर्डफ्लु भेटिएपछि काभ्रेपलाञ्चोकमा उच्च सतर्कता अपनाइएको र आइतबारदेखि थप सतर्कताका योजना सञ्चालन गर्छौं ।’
उनका अनुसार जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, बनेपा नगरपालिका तथा प्रहरीको संयुक्त टोलीद्वारा सीमानाका साँगामा बर्डफ्लु पशुपक्षीजन्य सामग्री परीक्षण भइरहेको हो । साँगामा रात्रिकालीन अवस्थामा परीक्षणका लागि शनिबारदेखि थप जनशक्ति व्यवस्थित गरिने भएको छ ।
जिल्लाको दक्षिण–पूर्वी नाका बिपी राजमार्गअन्तर्गत रोशी गाउँपालिकाको मंगलटारमा पक्षी जाँच केन्द्र स्थापना गरिसकिएको जानकारी दिए । उनका अनुसार जिल्लाअन्तर्गत राजमार्ग जोडिने अन्य नाकामा उच्च सतर्कता अपनाइनेछ । काभ्रेपलाञ्चोकलाई कुखुरा उत्पादनमा मुलुककै दोस्रो जिल्लाका रूपमा लिइन्छ ।
राजधानी काठमाडौंसहित केही जिल्लामा बर्डफ्लु देखिएपछि उपत्यकाको पूर्वीनाका तथा जिल्लामा उच्च सतर्कता अपनाउन थालिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यसका लागि जिल्लाको मुख्य नाकामा पक्षीको जाँचलाई कडाई गरिनुका साथै स्थानीय तहलेसमेत सरोकारवालासँगको छलफललाई तीव्रता दिएको प्रजिअ पाण्डेले बताए ।
पनौती र बनेपा नगरले आफ्नो क्षेत्रभित्रका व्यावसायिकरूपमा कुखुरा, कालिज तथा पशुपक्षीजन्य पालक कृषकसहित महामारीजन्य रोगबारे सरोकारवालासँग अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेका थिए । साथै ती स्थानीय तहले विभिन्न स्थानको नमुना परीक्षण गर्दा बर्डफ्लु नेगेटिभ रिपोर्ट आएको जनाएका छन् ।
केन्द्रका पशु चिकित्सक राजकुमार हुमागाईंले पक्षी पालिएको खोर सधैँ सफा राख्र्दै निसंक्रमण गर्नुपर्ने तथा त्यसो गर्नेले मास्क, बुट र पञ्जा अनिवार्य लगाउनुपर्ने बताए । गत माघ १६ गते मोरङको दुई स्थानमा देखिएको बर्डफ्लु संक्रमण त्यसयता चितवन र संघीय राजधानी काठमाडौं तथा उपत्यकाको भक्तपुरमा बर्डफ्लु देखिएको छ ।