बाल गीताञ्जली स्कुलका विद्यार्थीहरूद्वारा बृहद खाना पकाउने प्रतियोगिता सम्पन्न

.

काठमाडौँ -कागेश्वरी मनोहरा नगरपालिका–७ स्थित बाल गीताञ्जली स्कुलले विद्यार्थीहरूको सीप विकास, समय व्यवस्थापन र टोली प्रणालीको महत्व बुझाउने उद्देश्यले विशेष कार्यक्रम आयोजना गरेको छ। कक्षा ५ देखि ९ सम्म अध्ययनरत करिब ३५० जना विद्यार्थी सहभागी उक्त कार्यक्रम भक्तपुरको निलबाराही जङ्गल परिषरमा सम्पन्न भएको हो।

कार्यक्रमको मुख्य आकर्षण विभिन्न परिकार पकाउने प्रतियोगिता रहेको थियो, जसमा विद्यार्थीहरूले समूहगत रूपमा भाग लिए। यस प्रतिस्पर्धाले उनीहरूलाई आत्मनिर्भरता, टोली भावना र समय व्यवस्थापनको महत्त्व सिकाएको विद्यालय प्रशासनले जनाएको छ। प्रतियोगिताको मुल्याङ्कन नेपाल स्काउटका अग्रज व्यक्तित्व तथा राष्ट्रिय प्रशिक्षक भुवन चरण श्रेष्ठले गर्नुभएको थियो। उहाँको नेतृत्वमा नेपाल स्काउटका सहायक राष्ट्रिय प्रशिक्षकहरू मुना लामा, सुरेश कुमार खड्का र स्काउट लिडर सृष्टि न्यौपाने निर्णायकको भूमिकामा रहनुभएको थियो।

साथै, नेशनल ओपन स्काउट क्र्यूका पाँच जना सिनियर रोभर र रेन्जरहरू तथा विद्यालयका शिक्षक-शिक्षिकाहरूले कार्यक्रम सफल बनाउन विशेष सहयोग गरेका थिए। खाना पकाउने प्रतियोगितामा विद्यार्थीहरूले विभिन्न परिकारहरू तयार पारे। कोही भात, तरकारी, परौटा, मःमः चाउमिन, थकाली खानाका पारीकार, लगायत इन्डियन, चाइनिज, इटालियन जस्ता परिकार बनाउने प्रयासमा जुटेका थिए भने कोही नयाँ स्वादहरू सिर्जना गर्न उत्साहित देखिन्थे। प्रतियोगितामा सहभागिता जनाएका विद्यार्थीहरू अत्यन्तै हर्षित थिए। कक्षा ८ की छात्रा समीक्षा श्रेष्ठले भनिन्, “पहिलो पटक यती धेरै साथीहरुसँग मिलेर आफैँ खाना पकाउने मौका पाइयो। टोलीसँग काम गर्दा धेरै कुरा सिकियो।” त्यस्तै, कक्षा ९ का छात्र रिउस फुयालले भने, “समय व्यवस्थापन कति जरुरी हुन्छ भन्ने आज राम्ररी बुझेँ। खाना पकाउन मज्जा पनि आयो, जिम्मेवारी पनि महसुस भयो।”

नेपाल स्काउटका राष्ट्रिय प्रशिक्षक एवं प्रमुख निर्णायक भुवन चरण श्रेष्ठले विद्यार्थीहरूको मेहनत, सिर्जनात्मकता र टोली भावना देखेर आफू प्रभावित भएको बताउनुभयो। उहाँले भने, “खाना पकाउने क्रममा विद्यार्थीहरूले देखाएको समर्पण, सहकार्य र सिर्जनशीलता प्रशंसनीय छ। यस्तो अभ्यासले उनीहरूलाई भविष्यमा पनि व्यवहारिक जीवनमा सजिलो बनाउनेछ।” विद्यालयका प्राचार्य महेन्द्रराज घिमिरेले कार्यक्रमबारे आफ्नो धारणा राख्दै भने, “शिक्षा केवल किताबी ज्ञानमा सीमित हुनुहुँदैन।

यस्तो कार्यक्रमले विद्यार्थीहरूको आत्मनिर्भरता र व्यवहारिक सीप वृद्धि गर्न मद्दत गर्छ।” उहाँले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। गीताञ्जली स्काउट ट्रुपमा अध्यापन गराउँदै आउनुभएका नेपाल स्काउटका सहायक राष्ट्रिय प्रशिक्षक विदुर गिरीले स्काउटिङ र जीवनोपयोगी सीपबीचको सम्बन्धबारे प्रकाश पार्नुभयो। उहाँले भने, “विद्यालय स्तरमै यस्ता व्यवहारिक कार्यक्रम गरिनु आवश्यक छ। यसले विद्यार्थीहरूलाई सिर्जनशील र जिम्मेवार बनाउन भूमिका खेल्छ।” कार्यक्रमका संयोजक एवं विद्यालयका शिक्षक सागर चुडालले भने, “विद्यार्थीहरूले यस गतिविधिबाट धेरै कुरा सिक्न पाए। टोलीमा काम गर्ने सीप, समयपालन, संयोजन, रचनात्मकता जस्ता विषयमा उनीहरू अझ परिस्कृत भए भन्ने विश्वास छ।”

घिमिरे भन्नुहुन्छ, विद्यार्थीहरूको सक्रिय सहभागिता, उत्साह र सिकाइको अनुभव हेर्दा कार्यक्रम अत्यन्त सफल भएको देखियो । विद्यालय प्रशासनले आगामी दिनमा यस्तै व्यवहारिक कार्यक्रमहरू थप गर्ने योजना बनाएको छ। यस प्रकारका गतिविधिहरूले बालबालिकाको सर्वांगीण विकासमा टेवा पुर्‍याउने विश्वास गरिन्छ। कार्यक्रमको अन्त्यमा विद्यालयका प्राचार्य महेन्द्रराज घिमिरेले सहभागी सबै विद्यार्थी, शिक्षक तथा स्काउट स्वयंसेवकहरूलाई धन्यवाद व्यक्त गर्नुभयो। साथै, निर्णायक मण्डल र स्वयंसेवकहरूलाई मायाको चिनो प्रदान गर्दै कार्यक्रमलाई औपचारिक रूपमा समापन गर्नुभयो।