काठमाडौं – नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले आफूमाथि लगाएको आरोप झुठा भएको बताएका छन्। रावलले एक ट्वीट गर्दै प्रधानमन्त्री देउवाले आफूमाथि झुठा र उदण्डतापूर्ण रहेको बताएका हुन्।
सोमबार नुवाकोटमा भएको एक कार्यक्रममा प्रधानमन्त्री देउवाले रावल मन्त्री भएकै बेला अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता मन्त्रिपरिषदबाट पारित भई संसदमा पेश भएको बताएका थिए। देउवाले ‘आफैं रक्षामन्त्री भएको क्याबिनेटबाट पास गरेर एमसीसी पास गर्न संसदमा ल्याउने, अहिले किन टाउको दुख्यो? उसबेला दिमाग खुस्क्याथ्यो? त्यो बेला किन बिरोध नगरेको? राजीनामा गर्नुपर्दैन, लाज छैन?’ भनेर रावलको आलोचना गरेका थिए।
जवाफमा रावलले आफू मन्त्री भएका बेला मन्त्रिपरिषदबाट एमसीसी पारित नभएको जिकिर गरे। रावलले भनेका छन्, ‘म केपी ओलीजी पहिलो पटक प्रधानमन्त्री भएको बेला उपप्रधानमन्त्री र रक्षामन्त्री थिएँ। ओलीले एमसीसीसँगको सम्झौता संसदमा ल्याएको बेला होइन। अतः मेरो मन्त्रिपरिषदमा सहमति रहेको भन्ने कुरै रहेन।’
त्यस्तै, रावलले प्रधानमन्त्रीले आफूमाथि तुच्छ शब्द प्रयोग गरेको भन्दै पदीय मर्यादा कायम गर्न आग्रह गरेका छन्। ‘देशको प्रधानमन्त्रीले प्रयोग गरेका तुच्छ शब्दहरु लोकतन्त्रमा त्याज्य भएकोतर्फ ध्यान दिए तपाईंको पदीय मर्यादा कायम रहला’ रावलले भनेका छन्।