नेपालले शिक्षाको क्षेत्रमा छलाङ मारेको भएपनि सन्तोष गर्ने अवस्था छैनः प्रथम राष्ट्रपति यादव

.

नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले नेपालले शिक्षाको क्षेत्रमा छलाङ मारेको भएपनि सन्तोष गर्ने अवस्था नरहेको बताउनुभएको छ ।

बिहीवार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले शिक्षामा छलाङ मार्दा पनि सन्तोष हुन नसक्नुमा देशमै विद्यार्थीलाई खुशीका साथ राख्न नसक्नु रहेको बताउनु भयो । उहाँले सरकारले आफ्ना युवाहरु स्वदेशमै राख्नसक्ने वातावरण सिर्जना गर्न जरुरी रहेको बताउनु भयो । उहाँले आफ्नो देशको समस्या बुझेर काम गर्न जरुरी रहेको बताउनु भयो । अध्ययनसहितको विकास हुन नसकेको प्रति दुःख व्यक्त गर्नुभयो । तराई मरुभूमि हुन लागेको भन्दै त्यसो हुन दिनु नहुने बताउनु भयो । चुरेको संरक्षणमा लाग्न सबैलाई आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले शिक्षाको क्षेत्रमा छलाङ मारेका छौँ । तर सन्तोष छैन । किनभने हाम्रो देशमा विद्यार्थी राख्न नै समस्या छ । सिभिलाइजेशनेको इतिहास हेर्नुहुन्छ भने यस्तो समय आउँछ । हाम्रो जमानामा समाचार पुग्थेन सबै ठाउँमा । तर अहिले सबैसँग स्मार्ट फोन छ, सबैको देश दुनियाँको समाचार बुझिरहेको छ । आफ्नो देशको कुरा बुझिरहेको छैन । बिए पास गरेको विद्यार्थीलाई मैले आफ्नो देशको जियोग्राफी र इतिहास, राजनीतिक इतिहास सोधौँ भनेर र उसलाई पेपर दिएर दुई पेजको नेपाली राजनीतिक इतिहासको बारेमा लेख्न भनौँ भने सक्दैन । त्यसको दोष हामी राज्य चलाउने मानिसहरुको हो ।’

प्रथम राष्ट्रपति यादवले आफ्नो देशको बारेमा सबै कुराको जानकारी राख्न जरुरी रहेको बताउनु भयो । देशको समस्या बुझ्न नसक्ने मानिस उत्पादन गर्न जरुरी रहेको बताउनु भयो ।