काठमाडौं – आईसिसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले जित हात पारेको छ । संयुक्त अरब इमिरेट्स (यूएई)को सारजहा क्रिकेट रङ्गशालामा बुधबार भएको खेलमा पपुवा न्यूगिनीमाथि नेपालले २ विकेटको जित हात पारेको हो ।
पपुवा न्यूगिनीले दिएको जितका लागि दिएको २०५ रनको लक्ष्य नेपालले ४९ ओभर २ बलमा ८ विकेट गुमाउँदै पुरा गरेको हो । नेपालको जितमा रोहितकुमार पौडेलले सर्वाधिक ५८ रन तथा आरिफ शेखले ५३ रनको अर्धशतकिय इंनिग्स खेले । आरिफले ओडिआई करिअरको पहिलो अर्धशतक प्रहार गरेका हुन् भने रोहितको यो ओडिआई करिअरको चौथो अर्धशतक हो । याे नेपालकाे ओडिआई क्रिकेटमा शतकीय साझेदारी गर्ने पहिलो जोडी हाे ।
त्यस्तै, ओपनर आशिफ शेखले १६ रन बनाउनुबाहेक शिर्षक्रमका ब्याट्सम्यान क्रिजमा टिक्न सकेनन् । करण केसी २९ रनमा अविजित रहे । उनको फिनिसिङ उत्कृष्ट रह्यो ।
बलिङतर्फ पपुवा न्यूगिनीका अलि नाओ, रिले हेकुरे र नर्मन भनुवाले समान २/२ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको पपुवा न्यूगिनीले निर्धारित ५० ओभरमा आज विकेट गुमाउँदै २०४ रनको योगफल बनायो ।
पपुवा न्यूगिनीका लागि चाल्र्स अमिनीले सर्वाधिक ५९ रनको योगदान दिए । उनले ८२ बल खेल्दै सात चौकाको मद्दतमा ५९ रनको योगदान दिएका हुन । त्यस्तै चाद सोपरले ७४ बल खेल्दै दुई चौकासहित ३५ रन जोडे । नर्मन भानुवा १२ बलमा दुई चौका र एक छक्कासहित २३ रनमा रन आउट भए । त्यस्तै टोनी उराले २७, लेगा सिकायाले २५ तथा कप्तान असाद भालाले १९ रन जोडे ।
नेपालका लागि तीव्र गतिका बलर सोमपाल कामीले तीन विकेट लिए भने सन्दीप लामिछाने, आरिफ शेखले र ज्ञानेन्द्र मल्लले समान १/१ विकेट लिए ।