नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले प्रदर्शनका नाममा भइरहेका उश्रृंखल क्रियाकलापले विदेशी लगानीकर्ताहरु प्रभावित हुने बताउनुभएको छ ।
गत शुक्रवार काठमाडौंको तीनकुनेमा प्रदर्शनको क्रममा राजावादी समूहले गरेको निजी एवं सार्वजनिक सम्पत्ति तोडफोड, लुटपाट र आगजनीका घटनाप्रति नेपाल चेम्बर अफ कर्मले आपत्ति जनाएको हो । अध्यक्ष अग्रवालले प्रदर्शनको नाममा गरिएका लुटपाट, तोडफोड र आगजनीका घट्नाहरु सह्य नहुने भन्दै आपत्ति जनाउनु भाये । न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै अध्यक्ष अग्रवालले उक्त घट्नाले उद्योगी व्यवसायीहरुको मनोबल खस्किनुका साथै समग्र मुलुककै अर्थतन्त्रमा समेत ठूलो नकारात्मक असर पर्ने बताउनु भयो । सरकारको सुरक्षा व्यवस्थापन कमजोरीको कारण ठूलो जनधनको क्षति व्यहोर्नुपरेको उहाँको भनाइ छ । उहाँले सार्वजनिक तथा निजी सम्पती सुरक्षाको जिम्मेवारी सरकारले लिनुपर्ने समेत बताउनु भयो । सरकारले चुस्त सुरक्षा व्यवस्थापन गरेर मात्र अगामि दिनहरुमा प्रदर्शन गर्ने अनुमति दिनुपर्ने समेत उहाँको माग छ । उहाँले मुलुकको अर्थतन्त्र धराशायी भएको र बिस्तारै लगानीमैत्री वातावरण निर्माण भइरहेको अवस्थामा भएको उक्त उश्रृंखल क्रियाकलापले विदेशी लगानीकर्ताहरु समेत प्रभावित हुने भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले राजावादीहरुको प्रदर्शनका क्रममा भएको भौतिक तथा मानवीय क्षतिबारे गम्भिर हुँदै सरकारले उचित क्षतिपूर्ति दिनुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘अर्थतन्त्र केही सुधारउन्मुख अवस्थामा जाँदा व्यवसायीहरुमा उत्साह थपिएको बेलामा फेरि यस प्रकारका तोडफोड, लुटपाट र आगजनी जस्ता घटनाहरले निश्चय नै उद्यमिहरुको मनोबलमा नकारात्मक प्रभाव पारेको हुन्छ । सरकारले पनि यस प्रकारका क्रियाकलापहरु हुन दिनु हुदैन । निजी तथा सार्वजनिक सम्पत्तिको रक्षा गर्ने जिम्मेवारी सरकारको हो । साथै सरोकारवाला निकायहरुलाई पनि के अनुरोध गर्न चाहन्छु भने यो सबै देशको सम्पत्ति हो । यस्तो अवस्थामा संयमतापूर्वक आफ्ना मागहरु राखेर प्रदर्शनहरु गर्ने उहाँहरुको अधिकारको कुरा हो । तर लुटपाट, तोडफोड र आगजनीजस्ता घटनाहरु कुनैपनि अवस्थामा निजी क्षेत्रको लागि सह्य हुदैनन् । अहिलेको परिस्थिति आउनुमा सरकारको तर्फबाट सुरक्षा कमजोरी पनि भएको छ । यस्तो प्रकारको प्रदर्शनमा सरकारले पूर्ण सुरक्षा प्रवन्ध गरेर मात्र प्रदर्शन गर्ने अनुमति दिनुपर्छ । जसले गर्दाखेरि निजी क्षेत्रको व्यवसाय र सम्पतीमा क्षति नपुगोस् भन्ने हाम्रो चाहना हो । प्रदर्शनपछि जे जस्ता क्रियाकलाप भएका छन् नि त्यसले निश्चय नै लगानीमैत्री वातावरणमा असर पर्ने हुन्छ । यसले कतै विदेशी लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न उचित होइन कि जस्तो पनि सोच्न बाध्य गराउँछ ।’
बीमा नगरिएका व्यवसायिक प्रतिष्ठानहरुमा भएको क्षतिको मूल्याङ्कन गरी सरकारले उचि क्षतिपूर्ति दिनुपर्ने अध्यक्ष अग्रवालको माग छ ।